धर्म दर्शन भाग ९    ईशाई अथवा क्रिश्चियन

                                               –अयोध्या प्रसाद श्रीवास्तव

 (प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन र व्यवहार आदि कुनै कुराको सत्यताको पुष्टि वा विरोध गर्दैन र कुनै तर्क विचार व्यवहार विवादको संदर्भमा साक्षी प्रमाण बन्ने दावी गर्दैन तथा कुनै धर्म, विचार, चिंतनको प्रचार वा विरोध, द्वैष, दुर्भाव र घृणाको उद्देश्य छैन ) ।

                ईशाई अथवा क्रिश्चियन

ईसाई मान्यतामा आजको इस्राइल, या इजरायलको राजधानी यूरोसलम देखि दक्षिण १० किलोमीटरमा, फिलिस्तीनी राज्य क्षेत्र भित्रको एक नगर बेथलेहममा सर्वशक्तिमान सत्ता परमेश्वर एक यहूदी परिवारकी कन्या मरियमको गर्भमा आउनु भयो र  युसुफ नामको एक नवयुवकलाई मरियमसंग विवाह गर्न प्रेरित गर्नु भयो । युसुफ र मरियमको विवाह भयो । समय आएपछि ईशापूर्व ४ देखि ६ को बीचमा(खास ईशापूर्व ४ मानिन्छ ) एक पुत्रको जन्म भयो जसको नाम जीसस राखियो ।

               जीसस काखे बच्चा छंदै युसुफको मृत्यु भयो । जीससको बाल्यकालको १३औं वर्ष देखि ३० वर्षको उमेर सम्मको इतिहास खासै ज्ञात छैन । कोईले त वहां भारतको काशमीरमा, कोईले तिब्बत सम्म  गएर हिन्दू धर्मशास्त्रको अध्ययन गरेका थिए भन्छन्, र कोई ले वहांको समाधि नै काश्मीरमा छ भन्छन् । तर ई सब कुराहरु ग्रामीण कथा जस्तै छन् र कुनै कुरा प्रमाणित भने होइनन् । 

             जे होस, वहां उमेरको ३० वर्ष देखि  यहूदी धर्मको तमाम विकृतिहरुको विरुद्धमा उत्रिनु भएको भन्ने छ । तेहां देवीपूजा, बलिप्रथा, टाठाबाठा पुरोहितले कर्मकाण्ड नै धर्मको आधार हो भनेर जनतालाई ठगने, आदि कुरासंग वहां सहमत हुन सक्नु भएन र वहांले ई सब कुराहरुमा व्यापक सुधारको आवाज उठाउनु भयो र ठाउंठाउंमा मानवकल्याण र मानवमुक्तिका सरल तरीकाहरुको चर्चा परिचर्चा गर्न शुरु गर्नु भयो । वहांको कुरा सुन्न मानिसहरु उत्सुक रहन थाले र तिनलाई रब्बी अर्थात धर्मगुरु भन्न थाले । भित्री समर्थन बढन थाल्यो । यहूदी पुरोहित र समाजका कट्टरपंथी,शक्तिशालीहरुले यसलाई धार्मिक विद्रोह माने ।

                तेसबेला बेथलेहम रोमन साम्राज्यको भाग थियो । यहूदीहरुले पुरोहितहरुको अगुवाईमा राजा पोटियस लाई गुहारे । राजाले जीससको प्रचार रोक्न प्रयाय गरे तर सफल भएनन् । जीससको तीनवर्षको प्रचार मा पुरोहितहरुले यहूदी धर्मको विरुद्ध कार्य भएको भन्ने ठहर गरेर अन्तमा वहांहरुको अगुवाईमा जनताले जीससलाई समातेर सरकारी अधिकारी समक्ष पेश गरे, अधिकारीले गम्भीर कुरा भन्ने ठान्यो र तिनलाई गवर्नर पिलातुस समक्ष पेश गरे । गवर्नरले जनआक्रोशले असंतोष र क्रान्तिको रुप लिन सकने भन्ने सोचेर जीससलाई मृत्युदण्डको आदेश गरे । जीससलाई शुक्रवारका दिन क्रूर यातना दिंदै सलीबमा राखेर शरीरमा किल्ला ठोकेर झुण्ड्याएर राखि दिए । वहांको मृत्यु भएपछि वहांलाई चिहानमा पुरियो ।

                तर जीसस तेश्रो दिन पुनः जीवित हुनु भयो । यो महान आश्चर्य गुरु पुरोहित जनता सबले देखे । वहां आफना समर्थकहरुका बीच पुगनु भयो र वहांका १२ जना शिष्य बने । ती शिष्यहरुलाई वहांले परमेश्वर, परमात्मा र आफनो बारेमा ज्ञान दिनु भयो र नया धर्मको सम्पूर्ण शिक्षा  दिएर धर्मप्रचारमा लगाएर ४० दिन पछि सोझै स्वर्ग जानु भयो ।

             यीशु या जीससलाई विभिन्न नामले सम्बोधन गरिएको हुनाले विभिन्न आलेखहरुमा भेटिएका कारण र शव्दार्थहरुलाई जानकारीकोलागि यहां प्रस्तुत गरिंदैछ । ती कारण र अर्थहरुकै आधारमा वहांको नामाकरण हो अथवा अन्य अर्थ र भावार्थ छ ?खोजी र विश्लेषणको विषय हो । लेखहरुमा देखिए अनुसार  जीसस शव्द हिब्रूको “ये शु आ”बाट आएको हो । यसको अर्थ “यहोवा मुक्ति” भनेर उल्लेख भएको पाइन्छ । यही शब्द यीशु भयो भन्ने छ । हिब्रू भाषाको मसीहा जस्तै यहूदीमा क्राइष्ट एक उपाधि हो । जस्को सामान्य अर्थ मसीहा या उद्धारकर्ता हो । क्राइष्ट शव्दलाई ईश्वर, ईश्वरको प्रतिनिधि र ईश्वरको अवतारको रुपमा पनि प्रयोग गर्दछन् ।

                  भाषाविदहरुका अनुसार क्राइष्ट शव्द अभिषेक क्रियाबाट बनेको हो जसको अर्थ हो त्यो व्यक्ति जसले भर्खरै शरीरमा तेल मालिश गरेको छ । अर्थात अभिषेक को कार्यसंग सम्बन्धित बताइन्छ ।

              वहांलाई ईशा पनि भनिन्छ । ईशा अरबी शव्दबाट आएको हो  जसको अर्थ “भगवान उद्धारक” भनेर उल्लेखित देखिन्छ ।   इसलाममा पनि ईशा शव्द मसीहा को रुपमा आउंछ । मसीहा माने मुक्तिदाता । आदि । 

       ईशाइतका प्रमुख सिद्धान्त

१, एकेश्वरवाद । परमेश्वर आत्मा सदृश छन् । जसरी आत्माको हाड मासु हुंदैन अर्थात भौतिक रुपमा देखिंदैन तेसरी नै ईश्वरको प्रतिमा बनाउन सकिंदैन ।

२, परमेश्वरले काल, समय र मानिस बनाएको हो । उनी सर्वशक्तिमान,छन् पृथ्वी र स्वर्गका निर्माता पनि हुन् ।

३, यीशु यहोवा अर्थात ईश्वरका पुत्र हुन्, एक अवतार हुन् अर्थात ईश्वरकै स्वरुप हुन् अर्थात स्वयं ईश्वर नै हुन् ।

४, ईश्वरका पुत्र– मानवलाई उसको पापको परिणामदेखि बचाउनकोलागि परमेश्वरले यीशुलाई आफनो पुत्रको रुपमा पठाएका हुन् ।

५, यीशु मान्छेका सच्चा मित्र हुन् । समयको अन्तमा यीशु फेरी यो पृथ्वीमा आउनु हुनेछ ।

६,ईसाई तीन तत्ववादी छन्, अर्थात ईश्वरलाई तीन तत्वको रुपमा बुझदछन् र तीन कुरामा विश्वास गर्दछन्  यसलाई त्चष्लष्लथ भनिन्छ –परमपिता परमेश्वर, वहांका पुत्र ईशा मसीह र पवित्र आत्मा ।

     ई तीनवटा अलग अलग शक्ति या ईश्वर होइनन् । एउटै ईश्वरका तीन रुप या अभिव्यक्ति हुन् ।

                (सनातन हिन्दू धर्ममा एकमात्र सर्वशक्तिमान ब्रह्मका तीनवटा अभिव्यक्ति ब्रह्मा, विष्णु र महेश भने जस्तै भावना हुनु पर्दछ )।

७,विश्वास–यीशुको मृत्यु र वहांको पुनरुत्थानमा विश्वास गर्नु । यसबाट पापी मानिस पनि ईश्वरसंग भेट्न सक्छ, मोक्ष र शाश्वत जीवन पाउन सक्दछ ।  विश्वासको अर्थ हो मेरो हृदय बदलि सकेको छ र मेरो कामले हृदय बदलिसकेको भन्ने कुराको प्रमाण दिने छ ।

८, परमेश्वर प्रेमस्वरुप –यो धर्मले मानव मानव का बीचको प्रेममा विश्वास गर्दछ । प्रमेश्वर साक्षात प्रेमस्वरुप छन् भन्छ । यहूदी धर्ममा रहेको पशुबलि र कर्मकाण्डको विरुद्धमा यो धर्मको उत्पत्ति भएको थियो ।

९, ईश्वरले माया गर्नु हुन्छ – ईश्वरले कुनै एक समुदायका मानिसलाई मात्र माया गर्नु हुन्न, वहांले सम्पूर्ण मानिसलाई असाध्य माया गर्नु हुन्छ ।

१०, स्वर्गको राज्य तेसकोलागि हो जो विनम्र छ, धैर्यवान, सहनशील, र दयालु छ । ईश्वर दयालु छन् यस कारण मानिस पनि दयालु हुनु पर्दछ ।

११, क्रोध हानिकारक –क्रोधमा कसैसंग बदला नलिनु । हमेशा क्षमाशील रहनु ।

१२, मुख्य नियम – प्रेम, सेवा, उदारता, पवित्रता र क्षमाशीलता यो धर्मको मूल मान्यता हो । क्रोध, वासना, चिन्ता,र प्रतिशोधबाट आफुलाई बचाएर मुक्ति प्राप्त गर्न सकिन्छ । घृणा अस्वीकार्य हुन्छ । शत्रुसंग पनि प्रेम गर्नु पर्दछ भन्ने मान्यता छ । 

१३, स्वर्ग नर्क –यहूदीले प्रायःकयामत(प्रलयकाल) को चर्चा गर्दथे तर ईसाइतमा स्वर्ग र नर्क को अनुभूति त आत्मालाई यसै अवस्थामा प्राप्त भै हाल्छ भन्ने धारणा छ । 

१४, “यीशुले बचाउंछन्” भन्ने मान्यता छ । यस कारण मुक्ति अथवा स्वर्ग चर्चमा मात्र प्राप्त हुन सक्दछ । चर्चदेखि बाहिर मुक्ति छैन ।

१५,ईश्वरप्राप्ति– प्रार्थना, ध्यान र अध्ययनको माध्यमबाट ईश्वरका नजीक पुग्न सकिन्छ ।

१६,पापको औषधि – परमेश्वर श्रृष्टिकर्ता र सर्वशक्तिमान भएरपनि पापीहरुलाई मार्नु भएन बरु पापको औषधि बताउनु भयो ।

१७, पवित्र चिन्ह क्रॉस हो ।

 पवित्र  धर्मग्रन्थ – बाइबल हो । यो शव्द ल्याटिन भाषाको बब्लिया सैक्रा शव्दबाट आएको हो । यो बहुवचन हो । यसको अर्थ हुन्छ पवित्र पुस्तकहरु । यीशुका विभिन्न भक्तहरुले लेखेका पुस्तकहरुको संकलन हो ।  दुनियामा सबभन्दा धेरै भाषा र संख्यामा बाइबल छापिएको बताइन्छ । सब भंदा सशक्त र संगठित रुपमा बाइबलको वितरण र यो धर्मको प्रचार भैरहेको मानिन्छ ।

       बाइबल दुइ खण्डमा छ पहिलो खण्ड Old testament  हो अर्थात पूर्व विधान या पुरानो नियम । यो खण्ड यहूदीहरुको पनि धर्मग्रन्थ हो । दोश्रो खण्ड New testament  हो अर्थात नया विधायन या नया नियम हो । यसमा ईसाई धर्म दर्शन र मान्यता छन् ।

पूजा पद्धति – एक जना धर्मगुरुको नेतृत्वमा पूजा कर्म चर्च मा सम्पादित हुन्छ । क्याथोलिक

का धर्म गुरु पोपको निवास सहितको सर्वाेच्च चर्च इटलीको रोममा छ । पोपको आज्ञा सर्वमान्य हुन्छ ।

सम्प्रदाय – ईसाई धर्मका मुख्यतया दुई शाखा तर पछि तीन शाखा भएका छन् । परम्परागत शाखा क्याथोलिक हो भने संशोधनवादी शाखा प्रोटेस्टंट हो । दुवैको बीचमा गहिरो मतभेद रहेको छ । तेश्रो शाखाको नाम अर्थाेडक्स हो । 

चर्च –चर्चमा आइतवारका दिन भेला हुने र प्रार्थना हुने गर्दछ । प्रोटेस्टेण्ट मा संगतबाट प्रवचन, प्रशिक्षण र संदेश र मंडलीको गीतसंगीत गायनबाट प्राथर््ाना हुन्छ ।

A.D – सन् भन्ने वर्ष बुझाउने शव्द । ल्याटिन भाषाका दुइ शव्द Anno Domini , जसको अर्थ हुन्छ हाम्रो ईश्वरको वर्ष, तेसको यो संक्षिप्त रुप हो । (आजभोली ईशवी सन् A D नलेखेर CE कॉमन एरा र ईशा पूर्व BC  बिफोर क्राइष्ट को सट्टा BCE  बिफोर कॉमन एरा लेखने चलन चलेको छ )।

शक्ति संघर्ष – इशाइत भित्रै राजसत्ता रहनु पर्दछ भन्ने पोप र राजसत्ता धर्मदेखि बाहिरको शक्ति हो भन्ने राज्यशक्ति । दुइटा चिंतनका बीच यूरोपमा करीब ३०० वर्ष सम्मको लामो रक्तरंजित इतिहास छ । जसलाई दुइ तलवारको सिद्धान्तको संघर्ष भनिन्छ , अन्तमा राज्य शक्तिको विजयले पंथनिरपेक्षताको सिद्धान्त आएको हो ।

(लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति र दर्शनशास्त्रका अध्येता हुन् –(ayodhya.p.shrivastav@gmail.com)