वेद र प्रमुख ऋषि ऋषिकाहरुः–
वेदको अर्थ –
वेद मानव सभ्यताको प्रारम्भिक कुनै समयमा आर्यहरुले आर्याव्रतमा लेखेको धर्म, दर्शन, सामाजिक, भौतिक र श्रृष्टि विज्ञानको एक सर्वश्रेष्ठ, अतुलनीय र विश्वकै पहिलो लिखित सर्वाधिक प्राचीनतम ग्रन्थ हो । विद् धातुबाट वेद शव्द बनेको छ, विद् को अर्थ जान्नु अथवा ज्ञान हो यसरी ज्ञानको पुंजलाई वेद भनिएको हो । वेदका श्लोकहरुलाई ऋचा भनिन्छ । वेदको कुन ऋचा अथवा भाग कुन ऋषि या ऋषिकाको ज्ञानमा उतर्य उसको नाम को परिचय पनि साथमै प्राप्त हुन्छ । वेदका ऋचा अनुभव गरेर, दर्शन गरेर अथवा तपबाट प्राप्त ज्ञानको आधारमा ऋचा या श्लोक तयार गर्ने ऋषि, ऋषिकालार्ई मंत्रदृष्टा भनिन्छ ।
पूर्व र उत्तर वैदिक कालका प्रमुख ऋषि ऋषिकाहरु अंगिरा, वृहस्पति र इनका पुत्र भारद्वाज, ( “यंत्र सर्वस्व” ग्रन्थ का रचनाकार जसमा वायुयानको निर्माण, संचालन र प्रयोग विधि छ ) । विश्वामित्र, वशिष्ठ,कपिल,याज्ञवल्क्य, अगस्त्य, वशिष्ठ पुत्र पराशर, जमदग्नि, अत्रि, धर्म र मूर्र्ति देबीका दुई पुत्र नर र नारायण, मारीच पुत्र कश्यप, भृगु पुत्र जमदग्नि, वशिष्ठ पत्नी अरुंधती, घोषा, लोपामुद्रा,गार्गी वाचक्नवी, मैत्रेयी,अत्रि र अनुसुइया पुत्री अपाला, आदि थिए ।
वेदको उत्पत्तिका सम्बन्धमा केही अनुमान र मत प्रचलित छन् । वेदका ऋचा अर्थात श्लोकहरु ऋषिहरुका नामले चिनिन्छन् यस कारण साधारण मानिसले त यी कुराहरु ऋषिले लेखेका हुन् भन्ने सोचने गर्दछन् र केहीले त वेद महर्षि व्यासले लेखनु भएको भन्दछन् । केहीले वेद ब्रह्माजीका हातमा छन् वहांले लेखनु भएको भन्छन् । केहीले वेद भगवानका वाणी हुन् भन्छन् ।
तर हिन्दू मान्यतामा वेद को आदि अंत छैन, वेद सनातन र अपौरुषेय हुन् । ऋषि ऋषिकाहरुले योग तप ध्यान गर्दा वेदका ऋचाहरुको अनुभव, साक्षात्कार, या दर्शन, गरेकाले जसले जुन ऋचाको दर्शन गर्याै तेसैका नामबाट ती ऋचाहरु कंठस्थ गरिए र तिनैका नामले चिनिन्छन् । ती ऋषिहरुले आफुले आर्जित गरेको ज्ञान लाई तेसबेला लेखबद्ध गर्ने साधन नभएकोले गुरुले शिष्यलाई सुनाएर कण्ठ पार्न लगाए, ती शिष्यले आफनो शिष्यलाई एवं क्रमले वेदहरु गुरुसंग सुनेर कंठ पार्दै गएकाले वेदलाई श्रुति पनि भनियो । यसरी वेद स्वयं प्रकट भएका हुन् भन्ने छ र धेरै पछि समस्त ऋचाहरुलाई महर्षि व्यासले संहिताबद्ध गरेका हुन् ।
वेद कहिलेका हुन् त ? भन्ने कुरा को संक्षिप्त उत्तर वेद अनादि काल अर्थात श्रृष्टि भंदा पनि पहिले का हुन् भन्ने मान्यता छ । तर हिन्दू बाहेक अरुले यसबारेमा के भने छोटकरीमा त्यो हेरौं । यूरोपीय विद्वानहरुले भेट्टाए सम्मका पुरातात्विक शोधखोज,तथ्यहरुको विश्लेषण र तर्क वितर्क तथा विश्वका प्राचीन पुस्तकहरुसंग तुलना गरेर के निष्कर्ष दिए भने वेद , र त्यसमा पनि ऋग्वेद संसार कै सब भन्दा पुरानो ग्रन्थ हो । वेद ५००० वर्ष भंदा यताका हुंदै होइनन् । त्यो भंदा पहिले कहिलेका हुन् यकीन गर्न सकिन्न । केहीले वेदको लेखन कार्य ईपू ४५०० देखि बिस्तारै शुरु भएको र ईपू २००० सम्म संकलन जारी रह्यो होला ् भगवान रामको जन्म भंदा पहिले पुरुरवा ऋषिले इनलाई विभाजन गरेर ऋग्वेद, सामवेद यजुर्वेद, तीन वेद बनाए । पछि अथर्व ऋषिले फेरी विभाजन गरेर अथर्व वेद बनाएका हुन् भनि बताउंछन् । केहीले भगवान कृष्णको समयमा व्यास ऋषिले वेदका चार भाग मा सम्पादन गरेका हुन् भन्ने छ ।
केही विद्वानहरुको मतमा यजुर्वेद वैशम्पायन ऋषिलाई, सामवेद जैमिनीलाई, तथा अथर्व वेद सुमन्तु लाई जिम्मा दिइएकोले यस आधारमा काल गणना गर्दा वेदहरु ईसवी सन् २०२४ मा लगभग ६५१२ वर्ष पुराना हुन् । भगवान कृष्णको समयको बारेमा विज्ञान ले ईसवी सन् २०२४ मा ५११६ वर्ष पहिले थिए भनेर लगभग स्पष्ट गरी सकेको र भगवान राम को बारेमा त्यस भंदा लगभग २००० वर्ष जेठा हुनु पर्ने निष्कर्ष बताई रहेकाले यस आधारमा वेद संभवतः आज भंदा साढे सात आठ हजार वर्ष पुराना हुन् भन्ने अनुमान गर्दछन् । जे होस वेद विश्वकै सब भंदा प्राचीन ग्रन्थ हुन् भन्ने कुरा प्रमाणित छ ।
वेद र उपवेद का नाम
वेद चारवटा छन् ऋक्वेद (ऋगवेद), यजुर्वेद, सामवेद र अथर्व वेद ।
ऋक्वेद (ऋगवेद)– यसमा देवी देवताको पूजा र आराधनाका मंत्र, औषधि र चिकित्सा विज्ञान प्रमुख छन् । यसमा दस मंडल, १०२८ सूक्त, र ११००० मंत्र छन् । यसका पांच शाखा छन् शाकल्प, वास्कल, अश्लायन, शांखायन, मंडूकायन ।
यजुर्वेद–यो शव्दको अर्थ हो गतिशील तर यहां जु को अर्थ हो आकाश । यसमा यज्ञविधि र गम्भीर तत्वज्ञान छ । गायत्री महामंत्र यसैमा छ ।
सामवेद–यसमा स्तुति र मंत्रहरु संगीतको लयमा गाउने गरी लेखिएका छन् । यसमा १८२४ मंत्र, ७५ ऋचा, र तीन शाखा छन् ।
अथर्व वेद – यसमा रहस्यमय कुराहरुको र जडीबूटी आदिको उल्लेख छ । यसमा १० अध्याय र ५६८७ मंत्र छन् ।
वेदको विशेषता
१, विश्वकै सब भंदा प्राचीनतम ग्रन्थ र हिन्दूहरुकोलागि परम पवित्र र सर्वश्रेष्ठ धर्मग्रन्थ ।
२,हिन्दूहरुको सार्वभौमिक, सार्वकालिक,असंशोधनीय,अपरिवर्तनीय,सर्वाेच्च श्रद्धाको ग्रन्थ । प्रतेक कालमा,समयमा उपयोगी भैरहने सिद्धान्तको प्रकृतिले गर्दा ई सनातन ग्रन्थ हुन् ।
३, कुनै हिन्दूले वेदको मानमर्दन गर्नू हुंदैन, वेदको कुनै कुरा प्रति उसले किंचित मात्र पनि आलोचना गर्न हुंदैन यदि कसैले तेस्तो गर्छ भने ऊ हिन्दू होइन ।
४, वेद स्वयंशिद्ध, प्रमाणिक र पूर्ण सत्य छन् । हिन्दूले आंखा चिम्लेर इनलाई मानेकै हुनु पर्दछ ।
५, वेद संसारकै दर्शनशास्त्र अंतरगतको पहिलो दर्शन हो ।
वेदको महत्व
यद्धपि हिन्दू बाहेक अन्य सामान्य मानिसले वेदलाई यो त हिन्दुहरmको धर्मग्रन्थ हो भन्छन् तर ज्ञानी विज्ञानी, अनुसन्धानकर्ता, अध्येताहरुले यसलाई विश्वको एक अनमोल धरोहर र ज्ञान विज्ञानको श्रोत र सबै विद्याहरुको प्रमुख केन्द्र मान्दछन् । समस्त विश्वमा ज्ञानको जुन विकास भएको छ र हुंदैछ ती कुरा र सिद्धान्तहरु वेदमा छन् ।
अध्यात्म ज्ञान,ब्रह्म, जीवात्मा, स्वर्ग नरक, मोक्ष, विश्वको उत्पत्ति र लय, कर्मफल सिद्धान्त, पुनर्जन्म,धर्म, अर्थ, काम, मोक्षको साधना, देवी देवताहरुको स्तुति , यज्ञ,पंच महायज्ञ, र यज्ञ विधान,वर्ण र आश्रम व्यवस्था, शरीरका पांच कोष, मन, बुद्धि, चित्त को स्वरुप,चित्तका अवस्था काम क्रोध, आदि प्रवृत्ति, मानवका आचरणीय तत्व अर्थात मूल्य, सत्य, इमानदारी,आत्मर्भिरता, साहस , संयम, न्याय, प्रकृति , वातावरण र पशुधन को महत्व र संरक्षण, कृषि, व्यवसाय, रहन रहन व्यवहार, आचरण र सामाजिक अनुशासन तथा शासन व्यवस्था, भौतिक र रसायन विज्ञान, स्वास्थ्य विज्ञान, योग, रोग व्याधि चिकित्सा, शिक्षा, स्वास्थ्य रक्षा आदि । वेदमा के छ, भन्नु भंदा वेदमा के छैन भन्नु पर्दछ ।
हिन्दुका जुनसुकै ग्रन्थको कुनै विषय अथवा कुनै कर्म या मान्यता हन्दिू धर्म अनुसार छ छैन ? तेसमा वेदको कसी लगाइन्छ र वेदसंग असंगत देखियो भने गैर हिन्दूशास्त्रमा जान्छ ।
वेदका चार उपवेद छन् । ऋक् वेदको उपवेद आयुर्वेद, यजुर्वेदको उपवेद धनुर्वेद, सामवेदको उपवेद गंधर्व वेद,र अथर्ववेदको उपवेद स्थापत्य वेद हो ।
वेदका अंगहरु
वेदका अंगहरुलाई वेदांग भनिन्छ । वेदांग र वेदांत अलग अलग विषय र ज्ञानकोष हुन् । वेदांग निम्न अनुसार छन् ।
१, शिक्षा– यसमा ध्वनि र उच्चारण सम्बन्धी ज्ञान छ ।
२, कल्प– यसमा बलिदान का विधि र पालन गरिने आचार संहिता छ ।
३,निरुक्त– यसमा वैदिक मंत्रमा आएका शव्द को उत्पत्ति बारे बताइएको छ ।
४,व्याकरण– यसमा संस्कृतको व्याकरण छ ।
५,छंद–यसमा वैदिक मंत्रका शव्दको ज्ञान छ । र
६,ज्योतिष– यसमा ज्योतिष र खगोल विज्ञान छ । ।
वेदान्त र उपनिषद
प्रतेक वेदलाई मुख्यतया दुई भागमा हेरिन्छ । ज्ञानकाण्ड र कर्मकाण्ड । वेदको विषयवस्तुको विभाजन भने चार खण्डमा गरिन्छ ।
१, वेदको त्यो हिस्सा जसमा मंत्रहरु हुन्छन् तेसलाई संहिता अथवा मंत्र खण्ड भनिन्छ ।
२, जुन खण्डमा पूजापाठ गराउने विधि विधान हुन्छ तेसलाई ब्राह्मण खण्ड भनिन्छ । पूजापाठ को तयारी गराउने लाई ब्राह्मण भन्ने गरेकाले पछि यो शव्द बर्ण व्यवस्थामा एक वर्ण विशेष हुंदै अंतमा जाति को रुपमा आएको हुन सक्दछ ।
३, वन प्रदेशमा निवास गर्ने ऋषि, मुनि, ब्रह्मचारी आदिको आचरण र व्यवहारको नियम खण्डलाई आरण्यक भनिन्छ ।
४, वेदको त्यो भाग जसमा ब्रह्म, जीवात्मा, मोक्ष, पुनर्जन्म, स्वर्ग नर्क, कर्म सिद्धान्त, आदि गंभीर तत्व चिंतन हुन्छ तेसलाई उपनिषद अथवा वेदान्त भनिन्छ । यो बहुत गहिरो दर्शन,वेदको सार र सब भन्दा महत्वपूर्ण भाग हो । यसमा प्रवेश गरेर चिंतनमा उत्रेको मानिस पूर्ण आत्मज्ञानी हुन सक्दछ । ज्ञानको महासमुद्र भएकोले ब्रह्म र जीवात्मा को सम्बन्ध बुझदा बुझदै आफै हराउने हुनाले नेति नेति अर्थात यति मात्र होइन, यति मात्र होइन भनेका हुन् । यो महाज्ञानको तुलना विश्वमा कुनै दर्शन संग हुन सक्दैन ।
वेदको भंडार
वेदका अट्ठाइस हजार पांडुलिपिहरु भारतको पुणे मा “भंडारकर ओरिएंटल रिसर्च इंस्टीच्युटमा” संरक्षित छन् ती मध्ये ऋगवेदका ३० पांडुलिपि बहुतै महत्वपूर्ण मानिएकाले यूनेस्को ले विश्व संपदा सूचीमा सामेल गरेर सुरक्षित गरेको छ ।
क्रमश (लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति र दर्शनशास्त्रका अध्येता हुन् )