यो नया मुलुक अंग्रेजी ( ब्रिटिश इंडिया ) मा छँदा अहिलेको बाँके जिल्लाको डुडवा देखी कैलालीको भजनी सम्मको भाग नानपाराका राजाको राज्य थियो भने भजनी देखी कंचनपुर सम्म र बर्दियाको डेउढाकला क्षेत्र बेडना की महारानीको अधीनमा थियो । नेपालमा गाभिएपछि शुरुमा भारतीय राजा÷ रानी का प्रतिनिधि ठेकेदार नवाब ÷ कारिंदा ले पूर्ववत शासन चलाए र उनीहरुकै व्यवस्थापन रह्यो । जिमिन्दार या ठेकेदारले आम्दानी सम्म नेपालका श्री ३ महाराजलाई पठाउँदै रहे ।
पछि बर्दियाको प्रशासन, नेपालगञ्जमा खडा भएको गोश्वारा अड्डाबाट चल्न थाल्यो । नेपालगञ्जमा राणा परिवारको बेल समशेर जंग बहादुर राणा वडा हाकिम भएर आए । इनको हुकुमले यो बाँके र बर्दियाको प्रशासन सञ्चालन हुन्थ्यो । तर प्रशासनिक अधिकारी एक भए पनि स्थानीयता दुइटा भएकोले “बर्दिया बिर्ता माल अड्डा” र “बाँके बिर्ता माल अड्डा” नामका स्थानीय प्रशासनका दुइटा छुट्टा छुट्टै स्थानीय शासकीय इकाईहरु बनाइए ।
बर्दिया बिर्ता माल कहिले खडा भयो भन्ने कुरा ठोस यकीन गर्ने श्रोत यहाँ उपलब्ध हुन सकेन तर बाँके बर्दिया भूक्षेत्र ब्रिटिश भारत को नानपारा रियासत अंतरगत रहेकोले अँगे्रजले यो क्षेत्र जंगबहादुरलाई दिंदाका बखत अति दुर्गम जंगल झाडी भएकोले राणा परिवारले स्वयं आवाद गुलजार गराउने परिस्थिति नहुँदा केही वर्ष सम्म उनीहरुले नानपाराको राजालाई नै ठेक्का दिन्थे र राजाका कामदारहरुले मालपोत उठाउने गर्दथे भन्ने कुरा जमुनीका एक बृद्धले बताए र नानपारा रियासतले बनाएको इनारको अवशेष पनि देखाए ।
धेरै पछिमात्र सम्भवतः वि सं.१९६० ताका राणाहरुले भूमि आवाद गुलजार गराउने तर्खर गरेर कुम्भरमा बिर्ता माल अड्डा स्थापित गरे होलान् भनि अनुमान गर्दछन् ।
कुम्भर माल अड्डा काठै काठको बनेकोले अड्डा नभनेर यसलाई कठमहला भन्ने गरिन्थ्यो । जमीनदार, ठेकेदार, कारिंदाले कुनै वर्ष कुनै कारणले उब्जनी नभएपछि मालपोत बक्यौता हुन गएमा या बेइमानी चिताई मालपोत नबुझाएमा कठमहलाको अगाडी बनाई राखेको काठको घोडामा सूर्य तिर मुख फर्काएर बस्न लगाएर यातना दिएर मालपोत असूली गर्दथे । यसकारण जग्गाधनीहरु जग्गा छोडेर भाग्थे ।
वि सं. १९६० ताका जब कुम्भरमा अड्डा बन्यो त्यस बेला खुरशेद खान नामका नवाबको कोठार गुलरियाको बेलौलीमा थियो र इनले नीलको खेती गराउंथे । गुजरहना गाउं नजीक नील को फैक्ट्र्ी थियो । नवाबको कोठार बेलौली गाउँको पूर्व कोटही मन्दिर देखि दक्षिण पश्चिम ऊचा जग्गामा थियो । नवाबको “देशी पल्टन” को एक सानो टुकडी कोटही मन्दिर भएको जग्गामा बस्दथ्यो र सैनिक टुकडीले हतियार राख्ने र पूजा गर्ने ठाउँ “कोट” बनाएको स्थान काल खण्डमा निर्जन वन जंगल भएको थियो भन्ने भनाई छ ।
बर्दियाको पहिलो सदरमुकाम कुम्भर ः– जंग बहादुर राणाले आफना ६ भाई उत्साही छोराहरुलाई नयाँ मुलुकको बंजर पर्ती भू भाग, वन जंगलका ठूला फाँटहरु आवाद गुलजार गर्ने जिम्मा दिइ पठाएका थिए । इनीहरु जिमिदार कहलिए । इनले वीरगंज साइड र भारतबाट मानिस खोजेर काम गराउन नयाँ मुलुक लग्न थाले । देशावर थारुहरु पनि यता आकर्षित भएका थिए र पछि थप देशावर थारु र देशीहरु आएर दक्षिणी भूभाग अलि भित्रसम्म आवाद भएको हो ।
कुम्भरमा कठमहला बने पनि कर्मचारीको उपलब्धता हुन सकेन । नेपाल लाई नया मुलुक फिर्ता प्राप्त हुंदाका अवस्थामा यहां काला ज्वर, भंगेरा समेतलाई जूडी जाड लागने किसिमको मलेरिया, गाउं का गाउं मर्ने किसिमको हैजा र चेचक जस्ता रोगले महामारी को रुप लिने गरेकाले यसलाई कालापानी भन्थे । यस कारण आजको बार्डर साइडमा देशी थारुहरुको नितान्त पातलो बस्तीमा पढेलेखेका मानिसको नितान्त अभाव थियो र यो क्षेत्र आवाद गुलजार गराउन बहुतै कठिन काम थियो । यस कारण कुम्भरमा कठमहला बने पनि कर्मचारीको उपलब्धता हुन सकेन ।
त्यस समयमा भारतको गोरखपुर र बनारस अलि विकसित भएकाले गोर्खालीहरु पढ्न अथवा काम गर्न त्यता जाने गर्दथे । मध्य र पूर्वी नेपाल अथवा पश्चिमबाट नेपाल (काठमाण्डौ) जानलाई भारतको बाटो प्रयोग हुन्थ्यो र भारतबाट आवागमन वीरगञ्जबाट हुन्थ्यो । वीरगंजमा नेपाली अधिकारी राखिएका थिए इनले नेपाल (काठमाण्डु) जान चाहने भारतीय र नेपालीलाई जो भएपनि “वीसा” जस्तै पास दिन्थे । इनले गोरखाली या अंग्रेजी जहाँबट भएपनि कृषि र लेखापढी गर्न सक्ने मानिसहरुलाई खोज खाज पारी नयाँ मुलुकमा पठाउने जिम्मा पाएका थिए ।
तेसबेला भारतमा कायस्थहरु कतिपय स्वयं राजा महाराजा भैसकेका र कतिपय अरुहरुको दाँजोमा धेरै पढेलेखेका बुद्धिमान,मुगल सम्राटहरु का दरबारका मुख्य कर्ता धर्ता रहदै ब्रिटिश इंडियामा अँग्रेजहरुको प्रमुख प्रशासनिक अधिकारी र राय, बहादुर, लाल आदि उच्च सम्मान पाई रहेका, क्षेत्रीय नवाब र राजा हरुका दरबारमा पनि प्रमुख रहने गरेकाले राणाहरुले पनि भरसक कायस्थहरु खोजदथे तर कायस्थ धेरै चलाक हुन्छ सत्तामा आँखा लगायो भने सत्ता लिन्छ यसकारण इनलाई सानो तिनो पद मात्र दिनु पर्छ भन्ने नीति थियो । तेसैले वीरगंज अड्डाले नयाँ मुलुककालागि कर्मचारी भर्ना गर्दा लाला कमला प्रसाद श्रीवास्तवलाई बर्दिया को सरपट नापीका लागि जंजीरदार बहीदार मा भर्ना गर्यो । बर्दिया मा विसं. १९६७ मा पहिलो नापी भयो ।
। नापी पछि भूमिको संस्थागत श्रेस्ता प्रणाली व्यवस्थित गर्ने जानकारको खोजी भयो र कमलाका माइला भाई भर्खरका नबयुवक त्रिलोक नाथ भारतमा अँग्रेज सरकारको स्कूलमा पटवारिका ( भूमि प्रशासन र नापी नक्शा आदि ) पढेकाले उनलाई मालको नौसिन्दा बहीदार सरह भर्ना गर्यो र बर्दिया माल कुम्भरमा पठायो ।
त्रिलोक नाथ तेस समयको लागि सर्वाधिक राम्रो पढाई पढेकाले बडा हाकिमले सोझै आफनो पकडमा राखेर काम गराउन थाले । उनले बडाहाकिमको आदेशमा माल अड्डामा जग्गाको मोठ ढड्ढा, चलनपुर्जी, लालपुर्जा र मालपोत रसीद को ढाँचा, र प्रणालीमा थपघट गरेर सुधार गरे । प्रख्यात व्यक्ति हरिहर का पिता, भैरहवा बाट सरुवा भएर आएका मुखिया तारा प्रसाद उपाध्याय अनुभवी र परिपक्व कर्मचारी भएकाले तिनी ( हाकिम मा पनि नाम आएकोले यो नामका दुइ जना थिए कि भन्ने दुविधा छ ) पनि यस सुधारमा लागेका थिए । यसै आधारमा पहिलो नापीको लगत सुरक्षित गरियो ।
( निकै पछि प्रजातान्त्रिक काल २०१६ सालमा धादिंग, गोसाईंकुण्ड क्षेत्र र हिमाली भेगमा नापी र श्रेस्ता प्रणाली व्यवस्थित बनाउनलाई कांग्रेस सरकारले इनलाई ठूलो जिम्मेदारी दिएको थियो ) यसरी इनी ( १) भूमिको श्रेस्ता प्रणालीको सुधारक र व्यवस्थापक, २) जसले कुम्भर , सनबरसा र गुलरिया तीनवटै सदरमुकाम मा काम गर्यो र ( ३) आजको गुलरिया सदरमुकामको संस्थापकहरु मध्येको एक मुख्य व्यक्ति पनि हो ।
तेसबेला मानिस खोजेर ल्याउने, बस्ती बसालने र जग्गा आवाद गराउने नै मुख्य काम थियो र कालापानीमा ज्यान फाल्न आउन कोई तयार हुंदैनथ्यो । त्रिलोक नाथले त्यही समयमा भाई ज्वाला र बाला प्रसादलाई बोलाएर वहाँहरुले तप्पे छीट पकडिया मौजे पदमपुरमा ठूलो कोठार बनाई सरकारसँग जिमीदारी बहाली लिइ मानिस बस्ती बसाली तेताको जग्गा आवाद र बस्ती गुलजार गराएका हुन् । पछि इनीहरु पटवारी समेत भएर काम गर्न थाले ।
गुलरिया क्षेत्रको भूमि आवादी मा तेसबेलाका नामीगरामी जमीदार हसनापुर कटी का गुरुचरण अहिर को ठूलो भूमिका रहेको थियो जस्मा इनका ससुरा तुलापुर का .चुन्नु अहिर को पनि सहयोगी भूमिका रहेको थियो । चुन्नु अहिरका लगभग ३०० गाई भैंसी थिए ।
पदुमपुरका लालाजीहरु तेसबेलाका शिक्षित र बीरगंज अड्डाले योग्य भनेर ठहराएर पठाएको र त्रिलोकनाथ बडाहाकिमका विश्वासपात्र भएर काम गरीरहेकाले निकै महत्वपूर्ण व्यक्ति थिए भन्ने गुरचरण का छोरा विशेश्वर यादवको कथन छ ।
गुलरियाको पश्चिम निमकोठिया मौजा भारतीय कुनै राजा कनधारा का दामकाम गर्ने नवाब खुरशेदले मालपोत नतिरे पछि कुम्भर माल का कर्मचारी लाला कमला प्रसाद श्रीवास्तवले यो मौजा मालपोत तिरेर सकार गरेर बरगदहीमा कोठार बनाएका थिए८ । इनी कुम्भर मालका हाकिम हर्र्नेश्वरलाल .प्रधानांग (२०४७ का मंत्री एैश्वर्यलाल प्रधानांग का पिता हुन कि ?) को साथ संगतले हो या कुनै संगठनसँग सम्पर्कमा आएकाले हो, इनका गतिविधिले गर्दा इनी वि.सं १९८९ मा पक्राउ परे र केही दिनमा छुटे, इनी कति पटक पक्राउ परे र छुटे, तेस्को रेकर्ड पाइएको छैन ।
ती संगठनहरुले यद्यपि पछि राजनीतिक स्वरुप ग्रहण गरी वि.सं. १९९३ साल जेष्ठ २२ गते “नेपाल प्रजा परिषद” नामको “राजनीतिक दल” गठन भयो, तर इनका छिटपुट गतिविधि पहिले देखि नै जारी थिए । जसमा टंक प्रसाद आचार्य र गंगालालहरु थिए । कमला प्रसाद ले तस्ता संगठनको समपर्कबाट या कसरी हो, शक्ति प्रदर्शनका लागि बहुत ठूला जमिनदार पदनहाको बनघुश्री बस्ने हरिहर उपाध्याय कोे गुजरहना स्थित स–मिल र अरु कुन कुन ठाउँमा आगो लगाएको, निशानगाडा गैरहेको हरिहर को हुलाक र पैसा लुटिएको र अन्य कतिपय घटना घटाएको भनेर १७ वटा राजद्रोहको मुद्दा लाग्यो । वहाँलाई पक्राउ गरेर काठमाण्डौ जेल पुर्याए ।
पारिवारिक सूत्रका अनुसार यो घटना वि सं १९८९ या १९९० कै हुनु पर्दछ । राणा सरकारमा देशद्रोहीलाई मृत्युदण्ड दिइनेकुरा चल्यो तर सम्भवतः क्षेत्रपाटी निवासी एैश्वर्यलाल प्रधानांग (२०४७ का मन्त्री) का पिताजीको तर्फबाट हो या अन्य कतैबाट हो, कायस्थ जातिच्युत ब्राह्मण हो, बिहारमा कायस्थहरुले पूजा पाठ र ब्राह्मण कर्म गराउंछन् भन्ने कुरा निस्क्यो र मृत्यु दण्ड नदिएर आजन्म काराबास भयो । चार वर्षको दामल सजायमा वहाँलाई क्यान्सर भयो र सरकारले चार पाटे मुड्न लगाई वीरगंजको बाटो देश निकाला गर्यो । वहाँ भारत बस्तीको बेलघाट गाउँमा गएर बस्नु भयो र वि.सं. २००३ सालमा त्यहाँ नै वहाँको मृत्यु भयो । बर्दिया जिल्लाको राजनीतिक इतिहासमा कमला प्रसाद कायस्थ प्रथम क्रान्तिकारी हुन् । वहाँका साथी अरु कोई थिए थिएनन् ? त्यसको कुनै जानकारी उपलब्ध हुन सकेको छैन । वहां बसेको बेलघाटको घर प्रजातान्त्रिक नेपालीको लागि एउटा स्मारक को रुपमा रहेपनि बषौं देखि भत्केर जान थालेको छ ।
२०४६ साल पछि प्रजातान्त्रिक सरकारका मन्त्री काँग्रेस नेता ऐश्वर्य लाल प्रधानांग नेपालगञ्ज आउँदा श्रीवास्तव परिवारको बसोबास पत्ता लगाउँदै गुलरिया आउनु भएको र जिल्ला प्रशासन का जागीरे अयोध्या श्रीवास्तव संग भेट गरी कमलाप्रसाद का जेठा छोरा मुक्ता प्रसाद वन कार्यालय धनगढीबाट रिटायर भएर पदमपुरको गोडियन पुरवामा सानो फुसैला घर बनाई बस्नु भएको जानकारी पाएर वहाँलाई भेट्न जानुभयो । वहाँले कमला प्रसाद माथि मुद्दा चल्दा मुक्ता प्रसाद मन्त्री ज्यूको घरमा ६ महिना बसेर मुद्दा लड्नु भएको थियो र सो अवधिमा नाबालक एैश्वर्य लाललाई घरमा पढाउनु भएकोले गुरुलाई भेट्न आएको भन्नु भएको थियो । कमला बाबु क्रान्तिमा होमिएका व्यक्ति थिए भन्ने कुरा सुनाउनु भयो ।
मुक्ता प्रसाद वन कार्यालय मा जागिरे भएकाले २००७ साल को क्रान्ति पछि डर ले कुरा उठाउन सक्नु भएन पंचायत काल मा कुरा उठाए बापत धनगढीमा रिटायर भैसके पछि देशद्रोहीका छोरा भनि बरबुझारथ सन्तोषजनक नभएको भन्ने अत्तो थापी पेन्शनबाट वञ्चित गरेको र वृद्ध अवस्था, अन्य भाइ भतीजा हरुले त्यो कुरा उठाउन साहस गर्न सकेनन र लामो समय को अन्तराल ले २०४६ पछि को राजनीतिक नेतृत्व मा त्यो कुरा पुग्न सकेन भनेर बताउनु भयो । मंत्री ज्यूले प्रजातान्त्रिक सरकारमा सुनवाई गराउन फाइल खोज्ने कुरा भयो तर कालान्तरसम्म फाइल पत्ता लागेन । वहाँले नै कमलाप्रसाद अग्रणी पुस्ताका महान क्रान्तिकारी मानिस भएको भन्ने कुराखुल्ला रुपमा बोलनु भएको थियोे ।
समयको खाडलमा दबेर रहेका यी कुराहरुले बर्दिया को आफनो एैतिहासिक महत्व रहेको कुरा स्पष्ट हुन्छ । गुलरिया को इतिहास मा एउटा महान नाम थप भए को छ । २०६२/२०६३ साल को आन्दोलनमा सुरक्षा तन्त्र को गोली लागेर यमलाल कंडेल ज्यु को घटनास्थल मै मृत्यु भयो। नेपाल सरकार ले वहाँ लाई शहीद घोषणा गर्यो । वहाँ शहीद भएको मतंगा गुलरिया को मोड को चोक लाई यमलाल कडेल चोक नामाकरण गरिएको छ । नेपाली जनताको लागी यो आदरयुक्त स्मरणीय नाम भएको छ । बर्दियाको गुलरिया क्षेत्रका निवासी प्रथम क्रान्तिकारी कमला प्रसाद श्रीवास्तव, श्रेस्ता प्रणाली विशेषज्ञ त्रिलोकनाथ श्रीवास्तव, प्रजातान्त्रिक योद्धा र किसान आन्दोलनका सूत्रधार राधाकृष्ण थारु, प्रजातान्त्रिक खम्बा सुरेशराज शर्मा, र जग्गा आवाद गुलजार गराउने शक्ति गुरुचरण अहिरको नाम स्वर्णाक्षरले उल्लेख्ययोग्य छ ।
गुलरिया निवासी बुद्धिजीवी दिनेशप्रसाद श्रेष्ठको प्रयास र अगुवाईमा इतिहासपुरुषको सम्मानमा गुलरियामा गेस्टहाउसको चोकलाई राधाकृष्ण थारु चोक नामाकरण भएको छ भने त्रिलोकनाथको परिवारले वहांको समझनामा सार्वजनिक, धार्मिक र सरकारी क्षेत्रलाई भूमिदान समेत गरेको ले गाउं विकास समिति महम्मदपुर को गाउं परिषद ले २०५५ सालमा गणेशपुरको चोकलाई त्रिलोकी चोक नामाकरण गरेको छ ।