ज्वाईकालागि नागरिकता कानून
हालै संसदमा पेश भएको नागरिकता सम्बन्धी विधेयक निकै चर्चामा रहेको छ । महिला अधिकारवादी, मानव अधिकारवादी र समानतावादी भनि आफनो परिचय दिनेहरुले– १, विदेशी संग विवाह भएका महिलाहरुको नेपाली नागरिकता कायम रहनुु पर्ने । २, बाबू विदेशी भएपनि आमाको नेपाली नागरिकताको आधारमा सन्तानलाई नपाली नागरिकता दिनु पर्र्ने र ३, नेपाली महिला संग विवाह गरेका नेपाली ज्वाईलाई पनि नेपाली नागरिकता दिनु पर्ने । भन्ने मांग र यसमा छलफल चलीरहेको छ ।
जहां सम्म बुंदा नं १ को कुरा छ, नेपाल भारत दुवै देशको धार्मिक तथा सांस्कृतिक एकता र प्राचीनकाल देखिको घनिष्ठ मैत्री सम्बन्ध तथा रोटी बेटीको सम्बन्ध समेतले गर्दा खुल्ला सीमाना रहीआएको छ । वैवाहिक सम्बन्धले दुवै देशका नागरिकहरुमा पारस्परिक सद्भावको बृद्धि समेत हुने गरेको छ । दुवै देशका कतिपय निवासीले – प्रायः तराईवासीले आफना व्यक्तिगत परिस्थिति र समस्याले गर्दा बाध्यतावश पनि छिमेकी देशमा समाधान खोज्छन् र विवाह गर्दछन् । तर जे होस, नेपाली केटीको विवाह भारतमा भएको र वैधव्य अथवा अन्य कुनै कारणवश आफनो घरदेशमा बस्न नसकने अवस्थामा नेपाल फर्कदा तिनलाई माइती देश नेपालले शरण दिनै पर्दछ , यो तिनको वंशानुगत अधिकार पनि हो । यस्ता महिलालाई र विदेशी संग नेपाल मै बिहे गरी नेपाल मै घरजम गरेर बसेकी नेपाली वंशजकी महिलालाई पंचायतकाल देखि हाल सम्मको सबै शासनमा नेपाली मानिएको छ , तिनको नागरिकता खोसिएको वा तिनलाई नागरिकता उपलव्ध गराउन बन्देज लगाएको थाह पाइएको छैन । तर यो व्यवस्था परिपत्रमा भएकोले आमनागरिक, नेता र कतिपय कर्मचारी हाकिम समेतलाई यसको जानकारी नभएकोले थुप्रै महिलाले दुख पाएका छन् । तसर्थ यसलाई कानूनी रुप दिन आवश्यक छ ।
बुंदा नं २ र ३ यद्धपि एक अर्का संग घनिष्ट छन् तर पहिले २ न. लाई हेरौं । नेपाल बाहिर कुनै पनि देशमा विवाह भएका नेपाली महिलाले विदेशी पति घर छोडेर नेपाल फर्कनुपर्दा (क) विदेशी पतिबाट जन्मेको र विदेशी पिताको धन सम्पत्तिमा हक अधिकार रहेको बालिग सन्तान, निजकी पत्नी र सन्तान समेत भैसकेका छन् भने तिनीहरु पनि आमा संग नेपाल आउछन् भने तिनको नागरिकता को प्रश्न । –ख) नेपाली महिला संग आउने दूधे बालक र नाबालकको नागरिकताको प्रश्न ।–ग) महिलाको पेटमा आउने र नेपालमा जन्मने बच्चाको नागरिकताको प्रश्न ,। (घ) नेपालमा रहेबसेका विदेशीले नेपाली केटी विवाह गरी नेपाल मै स्थायी बसोबास गरेको अवस्थामा जन्मेको सन्तानलाई आमाको आधारमा नागरिकता दिने विषय । यी सबै संतानलाई आमा मात्रको आधारमा नागरिकता दिनु पर्ने मांग उठी रहेको छ ।
बुंदा नं ३ अति गंभीर प्रकृतिको छ । नेपालको सीमाना खुल्ला मात्र छैन कि यो देश बिना भित्ताको घर जताबाट आए पनि हुने । अझ धर्म निरपेक्ष गणतन्त्र भए पछि त आलो घाउमा झिंगाले झम्टने गरे झैं विदेशी धर्मप्रचारकहरु, विभिन्न थरीका घुमन्ते स्वार्थी तत्वहरु मनपरी प्रवेश गरेका छन्, को आयो, किन आयो, कुनै जानकारी राखने आवश्यकता ठानिदैन भने यो देशमा आउने र बस्ने गरेका झोले व्यापारी देखि ठुला बडाहरुले नेपाली नागरिकता पाउने उद्धेश्य लिएर, लोभलालच दिएर, अभिभावकको पाउ मलेर के कसरी हुन्छ ? नागरिकता प्रमाणपत्र भएको वा हुने अवस्थाका केटीहरुको नागरिकता बनाउन लगाएर त्यस संग विवाह गरेका छन् ,यस्ता घरज्वाइ र तिनका संतानहरुको संख्या अथाह छ । तिनलाई नागरिकता दिनुपर्ने मांग उठेको छ ।
अर्काे कुरा, भारतका कट्टरपंथी मुश्लिमहरुबाट पठाएको नेपालमा अघोषित “लव जिहाद”–( प्रेम आन्दोलन, मुश्लिम पुरुषले हिन्दु महिलालाई स्वास्नी बनाएर पुण्य कमाउनु र इस्लामको सेवा गर्नु ) को खुट्टा टेकाई सजिलो बन्दै गएको देखिन्छ । यसको अतिरिक्त अन्य जाति धर्मका पुरुषहरुले पनि नेपाली नागरिक महिलालाई लोभ लालच जाल परिपन्चमा पारी स्वास्नी बनाए पछि उसको नागरिकताले जग्गा किन बेच, व्यापार व्यवसायको इजाजतपत्र लिन पाएकै छन् । यसबाट नेपालीको हक अधिकार र जीवनका श्रोत साधनमा कटौती भएको, देशको आमदानी गुमेको छ । तर अहिले, नेपाली पुरुषले विदेशी पत्नीलाई नेपाली नागरिकता दिलाउंछ भने नेपाली महिलाले पनि आफनो विदेशी पतिलाई समानताको सिद्धान्तको आधारमा नागरिकता दिन मांग उठी रहेको छ ।
याद रहोस , नागरिकता भावनात्मक विषय होइन । यसमा समानताका सबै सिद्धान्त लागु नहुुन पनि सक्छन् । सिद्धान्त ठुलो कुरा होइन । राष्ट्र्यि अखण्डता, सार्वभौमिकता, संस्कृति, अस्मिता र सुरक्षा ठुलो कुरा हो । तसर्थ जहां पनि राष्ट्र्यि हित, मर्यादा र राष्ट्र्यि आवश्यकताका आधारमा कानून बनाइन्छ र सुविधाको वितरण गरिन्छ । राज्य सतर्क र दूरदर्शी हुन सकेन भने धेरै चीज गुमाउन पर्ने र कलह, अशान्ति र असुरक्षालाई निम्तो दिएको ठहर्न सक्दछ ।
चर्चामा नआएका नागकिताका अन्य समस्या पनि छन् ।
१, वैवाहिक अंगीकृत पाउने महिला संग भारतीय माइतीको राशनकार्ड मागिन्छ । यो अज्ञानता हो । किनकि भारतको सबै राज्यमा राशनकार्ड सबै संग नहुन सक्छ साथै नेपाल मै रहे बसेका गैरनागरिक माइती को राशनकार्ड त हुदैन । अनि नेपाली नागरिक की पत्नीले के गर्ने ? पहिले देखि भैराखेको हुलाक द्वारा विदेशी नागरिकता परित्यागको सूचना पठाउने व्यवस्था नै राम्रो देखिन्छ ।
२, जन्मका आधारमा नागरिकता पाएकाहरुको एउटै आमा बाबु बाट जन्मेका दाजुभाई दीदी बहिनी कोई नागरिक र कोई अनागरिक छन् । यो समस्याको समाधान हुनु पर्दछ ।
३, वंशज नागरिकता मागनेले बाबुको साथमा आमाको पनि नागरिकता पेश गर्नु पर्ने भन्ने छ । आमा विदेशी भएमा र नेपाली नागरिकता नलिएमा, आफनै देशमा बस्न चाहेमा, वा स्वदेशी विदेशी जुनसुकै आमाले नागरिकता नलिदै मृत्य भएमा बाबुको वंशजको सन्तानले नागरिकता कसरी पाउने ?
४,नागरिकताको समस्याहरुको निष्पक्ष गहन अध्ययन गरेर एकै पटक समाधान हुने कानून बनाएर संविधान मै यो विषय बंद गर्नु पर्दछ । यसलाई संधै राजनीतिक मांगी खाने भांडो बनाई राखन हुदैन ।
( लेखक पूर्व प्रशासकीय अधिकृत, प्राध्यापक र अधिवक्ता हुन् )