नेपाली भाषाको दुर्दशाको मुख्य कारण

                                                                               –अयोध्या प्रसाद श्रीवास्तव

         नेपाली भाषाको शुद्धताको अभियान र प्रयाशहरु भैरहेका छन् , तर पनि सुनिश्चित मानक बन्न सकेको छैन र शुद्धतामा कुनै प्रगति पनि देखिंदैन । कोही ले कथ्य अर्थात बोली का शव्द अनुसार व्याकरण बन्नु पर्दछ भन्छन् र बोलचाल मा श, ई, ऊ, नभएको ले शहर, शहीद, पूmल, आलू, भालू कानून, दूध, सीता, रीता, र श्री आदि को सट्टा सहर, सहिद, फुल, आलु, भालु कानुन, दुध, सिता, रिता, र स्रि, आदि लेखनु पर्दछ भन्छन् र लेख्छन् । कोही विद्वानहरु ले नेपाली भाषा को जननी संस्कृत र खडी बोली  (हिन्दी ) हो र तेताको शव्द र व्याकरण को उपेक्षा गर्न हुंदैन भन्नु  हुन्छ । सर्वनाम मा विभक्ति जोडने र न जोडने ? (जस्तो यो लेख मा विभक्ति अलग रहेको छ र पुरानो प्रचलन र मानक अनुसार लेखिए को छ) आदि  विवाद कायमै छ ।

     सो विवाद को समाधान कुनै एक मात्र कठोर नियम र विद्वता को अहंकार ले गर्न सक्दैन । यसै कारण यतिका वर्ष देखि चलेको यो विवाद समाधान हुन न सके को कारण पनि यही हो । पहिले कुखुरा आयो कि कुखुरा को फुल ? भन्ने तर्क वितर्क मा अल्झेर कुनै टुंगो मा पुग्न सकिंदैन र टाढा टाढा बसेर एक अर्का माथि दोषारोपण गरेर पनि समस्या समाधान हुंदैन । यो आमुन्ने सामुन्ने शान्तपूर्वक बसेर गहिरो तर्क वितर्क र विचार विमर्श गर्नु पर्ने विषय हो । यस कारण लचीलो नीति अपनाउनु पर्दछ ।

   सिद्धान्तकारहरु पहिले भाषा आयो कि व्याकरण भन्ने विवाद मा अल्झेका छन् । निःसंदेह पहिले भाषा आएको हो तर अन्य भाषा हिन्दी अंग्रेजी जस्तै अलग अलग भूगोल मा अलग अलग तरीका ले उच्चारण ,र लय को उतार चढाव र बोलने तरीकाहरु अलग अलग भए जस्तै नेपाली भाषा पनि पूर्वी, मध्य र पश्चिमी नेपाल तथा भारत का कइयों राज्य मा अलग अलग तरीका का उच्चारण र एकै भेग मा पनि अलग अलग उच्चारण र थेगो अलग अलग छन् । तसर्थ बोलिने भाषा मा लेखने हो भने तमाम थरी को लेखावट हुने भयो । एक मानक नबन्ने भयो र बिना मानक भाषा को विस्तार र समृद्धि न हुने भयो, र यो बहुल भाषा, सबै लाई मानक मान्दा त एक राष्ट्र्भाषा नै बन्न सक्दैन ।

      यसरी यौटा मानक नभएसम्म भाषा मा एकरुपता आउन नसकने कुरा त स्पष्ट नै छ । तर प्रचलित नेपाली भाषाहरु मध्ये कहांको भाषा लाई मान्यता दिने त ? काठमाण्डौ मा बोलिने, गोर्खा , स्यांग्जा पोखरा, जुम्ला, बाजुरा मा बोलिने,  भानुभक्त या पृथ्वीनारायण शाह, लेखनाथ पौडेल, बालकृष्ण सम र सूर्य विक्रम ज्ञवाली, कसले बोल्ने लेखने भाषा लाई मान्यता दिएर नेपाली भाषा भन्ने ?  यसको समाधान को लागि जननी भाषाहरु को  आश्रय लिएर एक मानक को आधारमा व्याकरण नबनाए सम्म भाषा लाई एकै रुप मा ल्याउन सकिंदैन । यस कारण यो अवस्था मा शव्द, र वाक्य गठन र अर्थ को स्पष्टता को लागि निर्णय को आधार बनाउन व्याकरण लाई भाषा भन्दा माथि राखनु पर्दछ र बोलचाल मा पनि तेही अभ्यास गर्नु पर्दछ ।

   हामी कहां अपठेरो यो पनि छ कि संस्कृत पढेका अथवा न पढेका नेपाली कै अधिकांश शिक्षक प्रोफेसरहरु ले कक्षा कोठा मा नेपाली पढाई रहेकै समय मा पनि आफनै भाषा लाई शुद्धता दिएको पाइंदैन । कछ्या, सिछ्या, बबाल, अब्बल, बोल्नु हुन्छ भने विद्यार्थी ले निश्चय पनि तेही सिक्छ । कक्षा कोठा मा पढाई रहेको बेला मा पनि देश को लागि राम्रो गर्दै छु भन्ने भावना रहनु जरुरी हुन्छ ।

      अहिले नेपाली बोलने र लेखने शुद्धता को वातावरण बहुतै बिग्रेको छ । शिक्षक र पत्रकार को बोली को समाज मा बहुतै प्रभाव पर्दछ रअरु ले अनुशरण गर्दछन् । तर अधिकांश शिक्षक र पत्रकार ले बोल्दा र समाचार पढदा, बिध्यालय, बिध्यार्थी , उधोग, बिधुत, समिछ्या, भिछ्या, अदच्छे, उधोग, उधमी, सहर, आदि नितान्त अशुद्ध बोल्छन् । र यस्ता अशुद्ध बोली लाई अनुशरण गरेर लेखने र बोल्ने शैली तेही अनुरुप हुंदै गरेको छ र विकृति यति चरम अवस्था मा पुगेको छ कि नेपाल को ११५ नं टीवी च्यानल, जसले शिक्षा पढाउंछ उसले त आफनै नाम Bidhyalay shikshya (बिध्यालय शिक्ष्या) राखेको छ । सरकारी पक्ष का स्वीकृतिदाताहरु र सरोकारवाला सबै निकाय नपुंसक बनेका छन् । त्यो च्यानल मा आंखा पर्दा लज्जा लाग्छ ।

     शव्द का अर्थ हुन्छन् , अर्थ नै नलागने शव्द को कुनै काम हुंदैन । शव्द लेखन मा दुविधा पर्यो भने शव्द को उत्पत्ति हेर्नु पर्दछ र वास्तविकता खुल्छ । जथाभावी बोलदा र लेखदा कि त कुनै अर्थ लाग्दैन कि त अर्कै अर्थ निस्कन सक्दछ । वेद र  विद्यालय शव्द विद् धातुबाट बनेको हो , विद् को अर्थ ज्ञान हो  । अर्थात ज्ञान प्राप्त हुने ठाउं ।  तर बिध को अर्थ बेधन गर्ने अर्थात घोचने हो । यसरी बिध्यालय को सामान्य अर्थ घोचेर मार्ने ठाउं हो अथवा बधशाला हो ।

    तर विडम्बना नै भन्नु पर्दछ, वर्तमान समय मा कायम रहेका ५६ वटा स्वर व्यंजन को उपयोग मा आधारित नेपाली भाषा मा अब ई, ऊ, व, श, ष, क्ष, त्र, ज्ञ, को प्रयोग लगभग हटि सकेको ले ४८ वटा स्वर व्यंजन बाकी रहने अवस्था छ भने अरु भंदा आफु लाई सुपर आधुनिक र सभ्य देखाउनका लागि प्रायः शहरी नानी र नवोदित नेता भनाउंदा केही ले जिब्रो दबाएर, मुख बंग्याउर बोल्दा घ को ठाउंमा ग, झ को ठाउंमा ज , ढ को ठाउंमा ड, ध को ठाउंमा द, भ को ठाउंमा ब बोल्छन् र लेख्छन् पनि । यस कारण केही समय पश्चात घ, झ, ढ, ध, भ पनि हराउने छन् र नया नेपाल को नया नेपाली तयार हुने छ । यस कारण पढे लेखेका मानिस, शिक्षक, पत्रकार, वकील, नेता, टाइपिष्ट, र पेन्टर ले त राष्ट्र्हित मा आफनो बोली भाषा सुधारेर राख्नु पर्ने दायित्व पनि हो ।

      नेपाली मा मास्टर डिग्री गरेका कतिपय शिक्षक ले पनि फलानो शव्द को इकार दीर्घ कि ह्रस्व, सोधने गर्दछन् । अन्यथा अर्थ नलागोस, बार्डर पारी नजिकै कुनै सक्षम स्कूल को कक्षा ८ को विद्यार्थी समेतले यस्तो प्रश्न गर्दैन । किन ? किन भने तेहां गाउं घर मा आ आफना तरीका को जे जस्तो बोलचाल भएपनि स्कूल, अफिस, व्यवसायिक, सरकारी या सार्वजनिक प्रतिष्ठान, पत्रकार जगत जहां पनि अधिकांशतया निर्धारित मानक अनुरुप मै बोलीचाली को प्रचलनले शव्दमा कहां दबाव र कहां नरम हुने स्पष्ट भैरहने हुनाले हाम्रो जस्तो ह्रस्व कि दीर्घ भन्ने सोधने समस्या रहने संभावना लगभग हुंदैन र बोली वचन र लेखाई शुद्ध हुने गर्दछ ।

 हाम्रा पूर्वज ले त हाम्रो लिपि लाई वर्ण मा धनी बनाएका छन् र पनि हामी आफना विशेषताहरु को तिरस्कार गरीरहेका छौं तर  अंग्रेजी मा यद्धपि वर्ण जम्मा २६ वटा छन् तर पनि तिनीहरुले उच्चारणबाटै वर्णविन्यास मिलाउंछन् Meet र Meat,   Dear र  Deer , Son, Sun, SSion, र  Tion, Date मिति , Date खजूर आदि भिन्नाभिन्नै उच्चारण बाट प्रष्टिन्छन् । आज को हाम्रो प्रचलन मा आउन लागे को स्री अमेरिकन फ्रीक्वेंट उच्चारण मा City हो, Shri बोल्दा उनले पनि तालव्य श, श्री नै बोल्छन् र लेख्छन् ।  उनीहरुको शव्द मा कहां दबाव दिने र कहां हलुंगो बोलने भाषा विज्ञान को शिक्षा ले यो कुरा सजिलै बुझाउंदछ र जति सुकै लामो शव्द भए पनि बोलने तरीका ले गर्दा सपेलिंग प्रस्टिन्छ र शुद्ध लेखिन्छ । तेहां पनि व्याकरण लाई भाषा भन्दा उच्च स्थान मा राखिएको छ । तर हामीकहां आफनै भाषा को उत्पत्ति विज्ञान, उच्चारण र व्याकरण को पढाई विद्यार्थी को कुन चरण मा हुन्छ र पढाउंछ कसले ? सबै लाई थाह भएकै कुरा हो । यो लेखक को मान्यता मा संस्कृत नपढेको या नेपाली भाषाका आमाहरु को साधना नगरेको मानिस ले वैज्ञानिक तरीका ले सही नेपाली पढाउन लगभग असम्भव छ ।  

    तेसैले बुद्धिमत्ताको परिचय देऔं, अहंकार त्यागेर लचिलो भएर व्याकरण को शरण मा जाऔं र राजनीतिक अद्देश्य ले प्रेरित भएर बनाइएका शव्दकोषहरु सुधारौं । एक राष्ट्र् को एक राष्ट्र्भाषा को जीवन लाई स्वस्थ र समृद्धशाली बनाऔं । एक मानक मा एक लीक मा हिंडौं । यही लेख को व्याकरण, ह्रस्व दीर्घ र विभक्ति अलग लेखने तरीका, आलू भालू, शहर शहीद सही हो कि < अर्का थरी ले दावी गरेको नयां तरीका सही हो ? अश्वशाला को श मोटो, कि पातलो, सरिता, निहारिका, वैतर्णी, अर्धनारी, देवीदत्त, वरीयता, शिक्षिका, विनीता, सीता रीता को इ को मात्रा ह्रस्व कि दीर्घ ? सनई हो शहनाई, साहि हो कि शाही, कुर्ची हो कि कुर्सी, अव्वल हो कि अब्बल, गजब हो कि गजप्प, अपहेलना हो कि अवहेलना, कमेच हो कमीज, तारेख हो कि तारीख, नालेस हो कि नालिश, फेराद हो कि फिराद, अरुसंग सोधदै हिंडने लज्जास्पद अवस्था र सबै दुविधा मेटाऔं र शिक्षक विद्यार्थी, लेखक, पत्रकार आदि सबैलाई सही बाटो मा पुगने स्थिति बनाऔं ।

     नेपाली भाषा को जननी संस्कृत र हिन्दी का शव्दहरु को बनौट,उच्चारण र तिनीहरु को व्युत्पत्ति को खोजी गरौं नेपाली मा उर्दू, अरबी,र फारसी का शव्दहरु को पनि बाहुल्यता रहेको र ती अधिकांश शव्द हिन्दी को माध्यम बाट नेपाली मा छिरेका ले आवश्यकता अनुसार तत्सम्बन्धी पुस्तक, समाचार,शव्दकोष पढौं, सोचविचार र  यकीन गरौं र नेपाली भाषा लाई प्रदूषणमुक्त गरौं ।

    राष्ट्र् भाषा स्वाभिमान को कुरा अरे र लहै लहै तथा अल्छी मानेर होइन,  गहिराई मा सोंचने विषय हो । नेपाल मा आज एकातिर त्रिभुवन विश्वविद्यालय का केही हस्ती र नेपाल प्रज्ञा प्रतिष्ठान, आधुनिकता को नाम मा भाषिक दौड लगाएका छन् भने पोखरा का मुकुन्द शरण उपाध्याय काठमाण्डौ मा आश्रम मा बसेर भानुभक्त देखि बौद्ध ग्रन्थहरु का उदाहरण दिंदै भाषा को शुद्धता कायम राखनु पर्ने अठोट का साथ साथीहरु संग अभियान मा जुटी रहनु भएको छ । यस्तो दोधार को अवस्था बाट विज्ञ र सरकारी सरोकारतन्त्र ले देश लाई मुक्ति दिन अघि बढनु पर्दछ । दिन प्रतिदिन बिग्रदै गएको नेपाली भाषा को स्थिति लाई सम्हालिनु सुधारिनु पर्दछ जस्मा शिक्षक, पत्रकार, पेण्टर, टाइपिष्ट र नेताहरु को अग्रणी भूमिका को आवश्यकता छ । 

  (लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति र दर्शनशास्त्रका अध्येता हुन् )