Sheelvati novel is about a South Asian women exposed to western culture.
सम्पूर्ण पुस्तक पढ्न को लागि पुस्तक को नाम मा क्लिक गर्नु होस्!
शीलवती
Sheelvati
नारीमा महासरस्वती, महालक्ष्मी र महाकाली तीन वटै दैवी गुणहरुको वास रहेकोले पतिको निम्ति चरित्र, सन्तानको निम्ति ममता, समाजकोनिम्ति शील, सहयोगीको निम्ति दया र जीवमात्रमा करुणाद्र महाप्रकृतिको नाम नारी हो । तसर्थ समाजिक रथका दुइ पांग्रा मध्ये पुरुष रुपी पांग्रा भन्द नारी रुपी पांग्रा निःसंदेह अधिक भारिलो र महत्वपूर्ण रहेको हँुदा नारीको भूमिका, दायित्व र कर्तव्यनिष्ठता बढी गम्भीर हुने गर्दछ । यस कारण कुनै नारी विशेषको यी कुनै भूमिका र गुणमा अपर्याप्तता अथवा विचलन आउँछ भने कुनै स्वार्थी पुरुष अथवा समाजको अन्य कुनै तत्वको जाल परिपंचको शिकार हुनुपर्ने अवस्था श्रृजित हुन्छ । अझ घर देखि बाहिर निस्केर समाजमा पुरुष सरह सेवा दिने कुनै कामकाजी महिलाले यदि पश्चिमा नारीहरुको खुल्लापन र पुरुष सहवासको अनियन्त्रित स्वतन्त्रताको किञ्चित मात्र पनि आभास पाएकी छन् र उनमा यदि स्वतन्त्रालाई मर्यादित राख्न सकने क्षमताको अभाव छ र शीलको मात्रा अधिक भएको कारणबाट सम्पर्कमा आउने वासनाको लोभी पुरुषको क्षणिक इच्छाको सहज परिपूर्ति हुने अवस्था छ भने तिनको पतनको बाटो फराकिलो हुन पुग्दछ जसमा अन्य निर्दोषहरु पनि जबरजस्ती धकेलिन सक्दछन् ।
तसर्थ नारी जातिले पुरुषको लम्पंटता, धूर्तता र स्वार्थीपन देखि बच्नका लागि बढी शीलवती नहुने र चारित्रिक पतन पराभवलाई उच्च मनोबलका साथ तिरस्कार गर्न सक्ने हुनुपर्दछ । यो समयको मांग हो र यो नितान्त आवश्यक पनि छ भन्ने कुराको पुष्ट्याईको लागि लेखकले विसौं शताब्दीको उत्तरार्धको समयलाई यस कारण छनौट गरेको हो कि त्यस्तो शान्त र सुन्दर समाजमा त अति शीलवतताले पतिताको अवस्था श्रृजित गर्न सक्दछ भने सिनेमा, टेलीवीजन, मोबाइल र इन्टरनेट जस्ता साधनहरुबाट अश्लीलता, उत्तावलोपन र यौन स्वतन्त्रता तथा भोगवादी संस्कृतिको खुल्ला प्रशारण भैरहेकोले मानिसको मानसिक अवस्था विकृत हुँदै गएको समाजलाई सन्तुलित र मर्यादित राख्ने नारीको जिम्मेदारी झन् बढ्दै गएको छ । यसलाई मद्देनजर राख्दै सुहृदय पाठक वर्गले लेखकको उद्देश्य अनुसार कथा वस्तुको प्रस्तुती गर्नुपर्ने बाध्यतालाई हृदयंगम गरी क्षमा गरिदिनु हुनेछ भन्ने आशा लिएको छु ।
यो उपन्यासमा उदाहरण स्वरुप पतनको दुखान्त दृश्य देखाएर त्यस्ता दुर्घटना देखि बच्न नैतिक उत्थान र स्वस्थ समाजको निर्माणमा सहयोग पुर्याउन उद्देश्य लिइएको छ । लेखकले संं.२०५०÷२÷१८ एकादशीका दिन लेखन शुरु गरेर २०५१÷७÷२ आश्विन पूर्णिमामा समाप्त गरेको प्रारम्भमा यो पुस्तकको कलेवर अत्यधिक मोटो भएको तर बहुत प्रयत्नका बावजूद व्यवसायिक प्रकाशकहरुबाट कठोर निराशा प्राप्त भएपछि सुरक्षित राखिएको उपन्यासको पाण्डुलिपिबाट हाल धेरै काँट छाँट गरेर यसको आकार छोट्याइएको छ र यसलाई अझै छोट्याउन पनि सकिन्थ्यो होला तर यो पुस्तकमा इतिहासको यौटा काल खण्डको समाजको मूल्य मान्यता, आर्थिक र शैक्षिक अवस्था, यातायात र संचार जस्ता क्षेत्र समेत समग्र समाजकै चित्रण गरेर ऐतिहासिक सामाग्री समेत प्रस्तुत गर्ने उद्देश्य लिइएकोले पुस्तकको यो आकार कायम रहन गएको हो ।
सामाजिक हितको लागि निजी प्रयाशमा भए पनि पुस्तक प्रकाशनमा ल्याउन मेरी छोरी कंचनलता, गुंजनलता,छोरा पंकज तथा आशुतोषबाट निरंतर आग्रह भैरहेको समयमा मेरा पूज्य गुरु प्रधानाध्यापक श्री बुद्धिनाथ ज्ञवाली ज्यूले लेखन र प्रकाशन कार्यलाई निरंतरता दिन पटक पटक प्रेरित र उत्साहित गर्नु भएकोले यो पुस्तक जन समक्ष आउन सकेको हुँदा गुरुदेव प्रति श्रदा वन्दन र सन्तान प्रति स्नेह आशीष रहेको छ । साथै यसको लेखनमा राती प्रकाश व्यवस्था र सहज अवस्था बनाई लेखनमा सहयोग दिने मेरी सहधर्मिणी उमा देवी को सेवा प्रति आभार प्रकट गर्नै पर्दछ । पुस्तक कम्प्यूटर टाइप गर्ने अमन चौधरी लगायत मेरा मित्र र सहयोगीहरु जो सबैको नाम लेखन यहाँ संभव छैन, ती सबैमा हार्दिक कृतज्ञता ज्ञापन तथा पुस्तक प्रकाशक र शुभेक्षा प्रकटकर्ता सज्जनहरुमा हार्दिक आभार प्रकट गर्दछु ।
यो पुस्तकको स्थान पात्र र घटना सहित सम्पूर्ण कथा वस्तु पूर्ण काल्पनिक हुन् । कसैको जीवन सँग कुनै अंश मिल्न गएमा संयोग नै मान्नु पर्दछ । लेखकको कसैको निन्दा गर्ने वा चित्त दुखाउने किञ्चित मात्र पनि उद्देश्य छैन लेखकले यद्धपि पचीसौं वर्ष देखि लेखन कार्य गरीरहेको भए पनि सिद्धहस्त लेखक नभएको र उपन्यास विधामा पहिलो प्रयाश भएको हुँदा यसमा हुन गएका त्रुटिका लागि क्षमाप्रार्थी छु । पाठकहरुबाट प्राप्त हुने सुझाव र सल्लाहको यथोचित आदर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।