(प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन र व्यवहार आदि कुनै कुराको सत्यताको पुष्टि वा विरोध गर्दैन र कुनै तर्क विचार व्यवहार विवादको संदर्भमा साक्षी प्रमाण बन्ने दावी गर्दैन तथा कुनै धर्म, विचार, चिंतनको प्रचार वा विरोध, द्वैष, दुर्भाव र घृणाको उद्देश्य छैन ) ।
जैन महावीरस्वामी र बुद्ध तथा चार्वाक दर्शनको अनीश्वरवाद, भौतिकवाद र सुखवादका का ठूला प्रचारक केश कम्बली एकै युगका हुन् । यस कारण जुन सामाजिक धार्मिक अवस्था बिहारमा थियो तेही सामाजिक धार्मिक अवस्था नेपालको तराई सहित समस्त भारतीय उपमहाद्वीप र जहां जहां हिन्दू धर्म थियो लगभग सबै ठाउंमा पनि कुव्यवस्था र दुख पीडा थियो । तेसबेला एता त एकमात्र हिन्दू धर्म थियो र पंडित पुरोहितहरुले बलि प्रथा, धर्मकार्य गर्नकोलागि पैसा तोकेर मागने, विभिन्न आडम्बर, ढोंग गर्ने, फलानो ठाउंमा यो नामको मानिसले यो काम गर्यो र देवी देवताबाट यस्तो लाभ पायो, या फलानोले यो रुपमा भगवानको दर्शन पायो यस्तो लाभ भयो, फलानोले यो काम गरेन, पत्याएन र यति नोकशान भयो आदि चमत्कारका कुरा सुनाएर लोभ र भय देखाएर ठगी गर्ने, निर्धनसंग उसको धर्म कार्य नगरी दिने, धर्म काम र दान नगर्नेलाई पातकी, चाण्डाल भनेर समाजमा होच्याउने र अपमानित गर्नेआदि बहुतै नराम्रो स्थिति थियो । असल ब्राह्मण र ईमानदार पुरोहितहरुको कसैले वास्ता गर्दैनथ्यो पूरा आर्याव्रत नै तमाम ठग र धूर्तहरुको चंगुलमा फंसेको थियो ।
यस्तो समयमा नेपालको तराईमा लुम्बिनी राज्य, जस्को राजधानी तिलौराकोट थियो तेहांका शाक्यवंशी क्षेत्री राजा शुद्धोधनकी महारानी मायावती प्रथम प्रसवको लागि माइती देवदह जानलाग्दा बाटोमा पर्ने लुम्बिनीको जंगलमा रुक्मिनदेई भन्ने स्थानमा ईसापूर्व ५६३ मा राजकुमार सिद्धार्थको जन्म भयो । इनी ठूलो तपस्वी बन्ने योग छ भनेर पुरोहितहरुले भनेकाले राजाले इनलाई भुलाई राख्नकोलागि दरबार भित्र मनोरंजन र आमोद प्रमोदमा डुबने व्यवस्था गरे ।
तर इनी बाल्यकालदेखि चिन्तनशील र अतीव संवेदनशील स्वभावका थिए । दरबारमा वेद पुराण स्मृति आदि को अध्ययन पनि साथ साथै चल्यो । संभवतः आमोद प्रमोद भन्दा मनको शान्ति र आनन्दको उपाय खोजने पट्टी व्याकुलता बढेर होला ,इनले पत्नी यशोधरा र छोरा राहुललाई छोडेर शान्तिको खोजमा दरबारबाट चुपचाप प्रस्थान गरे र घुम्दा घुम्दै बिहार क्षेत्रमा पुगे । तेहां वनमा इनले ६ वर्ष तपस्या गरे । तर ज्ञान प्राप्त भएन । तेसैले इनले तप मार्ग छोडे । एक दिन बोधगयामा पीपल वृक्षमुनि बसेर ध्यान गरिरहेको समयमा इनलाई ज्ञान प्राप्त भयो ।
बुद्धको सिद्धान्त एकदम सरल भएको र तेसमा कुनै पूजापाठ, आडम्बर, कर्मकाण्ड, पंडित पुरोहितको आवश्यकता नभएको मनको सफाई शुद्धता,र मुक्तिको लागि राम्रो काम गर्ने तरीकाहरु मात्र थिए । प्रेम,सत्य,अहिंसा, करुणा, दया, क्षमा, को प्रकृति । यसले गर्दा पुजारी वर्गको पाखण्ड र प्रवृत्ति देखि असंतुष्ट राजा महाराजा र धनी व्यक्तिहरुले जैन धर्म स्वीकार गरे जस्तै बौद्ध धर्मको पनि प्रभाव बढ्यो र अशोक जस्ता भारतका शक्तिशाली सम्राटले बौद्ध धर्मदीक्षा लिएर आफना छोरा छोरी सहितको धर्मप्रचार टोली टाढा टाढा विदेशमा पठाए । यस प्रचारबाट आजको अफगानिस्तान, पाकिस्तान र बंदलादेश सहितको भारत, नेपाल, श्रीलंका,तिब्बत, चीन, जापान, कोरिया, बर्मा, वियतनाम, कम्बोडिया र इण्डोनेशिया सम्म बौद्ध धर्म फैलियो ।
बौद्ध धर्मका मुख्य सिद्धान्त –
१, बौद्ध धर्ममा ईश्वर र आत्मालाई मानिंदैन । यस कारण यो अनीश्वरवादी छ र हिन्दू, सिख, इस्लाम, ईसायत सबै संग अलग छ । वेदलाई प्रमाण नमान्ने र वैदिक दर्शनको विरुद्धमा आएकोले हिन्दुत्व देखि नितान्त भिन्न छ ।
२, ईश्वर को सत्ता नमानेपनि कर्म सिद्धान्त र पुनर्जन्मको सिद्धान्त अर्कै तरीकाले मान्दछ । (यो धर्मको प्रचार पाली र स्थानीय भाषामा भएकोले यसमा आउने शव्दहरुलाई तिनै भाषाको आलोकमा बुझनु पर्दछ ) ।
(क) दुखं आर्यसच्चम् । संसार दुखले भरिएको छ ।
(ख)दुखःसमुदय । दुखका कारण हुन्छन् ।
(ग) दुखःनिरोध । दुखको निवारण हुन सक्दछ ।
(घ) दुखःनिरोध गामिनी पटिपदा । दुख निवारण अष्टांग मार्गबाट हुन सक्दछ ।
दर्शन अथवा व्याख्या– हाम्रो मनमा जागने सांसारिक लोभ, मोह,र तृष्णा दुखको कारण हो । जो यो तृष्णा लिएर मर्दछ, ऊ पुनःसंसारमा जन्मिनु पर्दछ र फेरी फेरी यो चक्रमा परि रहन्छ । जस्ले अष्टांग मार्गबाट ई तृष्णाहरुदेखि आफुलाई मुक्त गर्न सक्दछ ऊ पुनर्जन्मको जीवनचक्रदेखि मुक्त हुन्छ । आत्मा त छैन भने मुक्त को हुन्छ त र मुक्ति पछि मुक्त हुनेको अवस्था के हुन्छ ? भन्ने प्रश्नको उत्तर हो “बलेको दियो निभ्यो, सक्कियो” । यो नै निर्वाण अथवा मुक्तिको अवस्था हो ।
आत्मा छैन भने पुनर्जन्म कस्को, मुक्ति कसको? यो सिद्धान्त बहुत जटिल छ । बौद्ध दर्शनले बिना कारण कार्य हुंदैन भन्ने सिद्धान्तलाई स्वीकार गर्दछ । यसरी मानिसले कर्म गर्दै गएपछि परिणाम भोग्नलाई पुनर्जन्म हुन्छ । पुनर्जन्मको मूल कारक कर्म हो । कर्म मानिसको मानसिक अवस्थामा एक प्रवाहको रुपमा बगी रहेको हुन्छ र यही प्रवाहले अर्काे जीवनमा प्रवेश गर्दछ । कर्मको उर्जा र मानसिक प्रवाह पुनर्जन्मको कारक हो ।
टिप्पणीकारहरुले तेही उर्जा या प्रवाहलाई हिन्दू दर्शनमा एक नाम दिएको छ “आत्मा” । र कर्मलाई संग्रह गरेर रेकर्ड राखने मानसिक क्रिया या अवस्था भनेको हिन्दूले नाम दिएको चित्रगुप्त हो नि । भन्छन् ।
बुद्धको सिद्धान्तमा एक कुरा यो पनि छ कि धेरै विवादास्पद कुरा आयो भने मौन बसि दिनु पर्दछ । आ आफनो ज्ञान आ आफनो समझ ।
३, बौद्धको मंत्र जपमा ॐको उच्चारण गर्ने हुनाले हिन्दू दर्शनमा यो धर्मलाई ओमकार परिवारको एक शाखा र गौतम बुद्धलाई भगवानको नवौं अवतार मानिएको छ ।
४, बौद्ध धर्ममा ईश्वरपूजा र मूर्तिपूजा नभएपनि बुद्धका मूर्ति राखने र पूजा गर्ने मान्यता छ ।
बौद्ध धर्मका १० शील (मर्यादा)
यसमा भोग विलास र कठोर तपस्या दुवै अति लाई छोडेर दुवैको बीचको बाटो अपनाएको मध्यमार्गी हो ।
१,सत्य, २,अहिंसा, ३,अस्तेय –चोरीनगर्ने, ४,अपरिग्रह( जति आवश्यक छ तेति सम्पत्ति मात्र राखौं ), ५,ब्रह्मचर्य ( व्यभिचार बाट बचौं),६,अविलासिता ((विलासिता देखि बचौं),७,आरामदायक बिस्तरमा नसुतौं । ८,असमय भोजन नगरौं ९,मद्यपान आदि नशा नगरौं १०, कंचन कामिनीको त्याग ।
५, ई.पू.४८३ मा भारतको कुशीनगर मा भगवान गौतम बुद्धको निर्वाण (मृत्यु) भयो ।
६, बुद्धको स्वर्गवास पछि बौद्ध धर्म विभाजित हुंदै अहिले यस्का ४ शाखा छन् ।
१, थेरवाद ः– यसलाई पहिले हीनयान अर्थात निम्नवर्गीय भनिन्थ्यो । बुद्धका शिक्षा र सिद्धान्तको पूरा पालन गर्ने र संशोधन र सुधार को विरोध गर्ने मूल धार हो । (नेपाल, श्रीलंका, थाइलैंड, म्यानमार, कम्बोडिया, लाओस र बंगलादेशमा थेरवादको प्रभाव छ) ।
२,महायान ः– सुधारवादी ।(यसले बुद्धको शिक्षा मा व्यापक परिवर्तन गरेको छ र बुद्ध का अतिरिक्त तमाम बोधिसत्वको पूजा गर्दछ । चीन, जापान, उत्तर र दक्षिण कोरिया,वियतनाममा प्रभाव छ ।
३, वज्रयान ः– यो महायानको शाखा जस्तै छ यसलाई तिब्बती तांत्रिक धर्म पनि भन्दछन् । तिब्बत, भूटान र मंगोलियामा प्रभाव छ ।
४, नवयान ः–( नवयान डा.भीमराव अम्बेडकरले बनाए । भारतमा खास गरेर महाराष्ट्र्मा र अन्यत्र पनि छ । अम्बेडकरको धर्म भनेर यसमा दलितहरुको आकर्षण छ ) ।
अफगानिस्तान र इण्डोनेशिया पहिलेको हिन्दू र पछि बुद्धिष्ट देश भएका थिए । अफगानिस्तानमा गांधार संस्कृति थियो । अफगानिस्तानको बामियानमा बुद्धको ११५ फिटको एक मूर्ति सन् ५०७मा र १७४ फिटको सन् ५५४बनेको थियो । अफगानिस्तानमाथि सातौं शताव्दी देखि अरब तिरबाट आक्रमण शुरु भयो र नवौं शताव्दीमा मुश्लिम सफ्फारी राजवंशको स्थापना भयो । ई मूर्तिहरु कट्टरपंथीहरुले सन् २००१ मा ढाले । अहिले ई दुवै देश इस्लामिक राज्य छन् ।
भगवान गौतम बुद्धको समय देखि नै यो धर्म यति धेरै प्रभावशाली बन्यो कि गरीब, दुखी, साना ठूला, राजा महाराजाहरुले आ आफनो शक्ति अनुसार धन, समय, र शक्तिको भरपूर दान गरे । साना ठूला हजारौं बौद्ध विहारहरु बने । ईशाको पांचौं शताव्दीमा मगधका राजा कुमार गुप्त प्रथमले स्थापित गरेको आजको विहारको नालंदा विश्वविद्यालय पनि बौद्ध हीनयान को महाविहार कै रुपमा स्थापित गरेका थिए र यसको खर्चकोलागि दुइ सय गाउं दान गरेका थिए, जसमा दसहजार विद्यार्थी, दुइ हजार शिक्षक र तीनलाख भन्दा बढी पुस्तक थिए ।
तर यो धर्मतन्त्र मात्र थिएन । यो ज्ञान, विज्ञान र अनुसन्धानको विश्व प्रशिद्ध विशाल ज्ञानकेन्द्र थियो । जहां तमाम अन्य देशका विद्यार्थी पनि शिक्षा लिन आउंथे । यो आवासीय विश्वविद्यालयमा, विश्वकै ज्ञातव्य इतिहासमा, सर्वप्रथम भोजन आवास सहित सबै सुविधाहरु पूर्णतया निःशुल्क थियो, यसमा सातौं शताव्दीमा चीनी यात्री हूवेनसांगले एक वर्ष बसेर शिक्षा प्राप्त गरेका र शिक्षण पनि गरेका थिए ।
(यस पश्चात पश्चिम बाट आएको नितान्त क्रूर मुश्लिम आक्रमणकारी बख्तियार खिलजीले ई सन् ११९२ मा नालंदा विश्वविद्यालय मा सेना लिएर गयो र दस हजार विद्यार्थी र दुइ हजार शिक्षकलाई काट्यो । नौ मिलियन (नब्बे लाख) पूस्तक र दुर्लभ पाण्डुलिपि भएको पुस्तकालय जलायो जो तीन महिना सम्म जल्यो र आयुर्वेद विभाग का प्रमुख श्रीभद्र जसले उसको मरणासन्न अवस्थामा केही समय पहिले उपचार गरेर स्वस्थ बनाएका थिए, तिनलाई, हाम्रो हकीम भन्दा पनि बढी जान्ने भनेर ईर्ष्या र द्वेशवश काट्यो । नालंदा विश्वविद्यालय सकियो । तर हालै ई सन् जून १९, २०२४ अषाढ ५गते वि सं २०८१ मा मात्र भारत सरकारले प्रधानमंत्री नरेन्द्र मोदीको समयमा विश्वविद्यालयको जीर्णोद्धार गरेको छ )।
राजा महाराजा र ठूलठूला दान दाताहरुको धनबाट देश विदेशमा राजमहालय जस्ता ठूलठूला बौद्ध विहारहरु बने । बिहारमा यति धेरै बौद्ध विहार बनेकि यो भूप्रदेश नै “विहार” नामले विख्यात भयो जो आज अपभ्रंश भएर “बिहार” भएको हो ।
समाप्त