हुन त मैले लेखेको पुस्तक “यो हो अमेरिका”जो अहिले प्रेसको यात्रामा छ , तेसमा यो लेखमा रहेका धेरै कुराहरु समेटिएकै छन्, तर हालै सुनिएका समाचार र घटनाका निष्कर्षहरु शीघ्र प्रकाशित हुनुपर्ने उचित लागेकोले अलि अनौठो लागने कुराहरुको यो लेख प्रस्तुत छ । अनौठो यस कारण लाग्ला कि हाम्रा विचार र चिन्तनका श्रोत अहिले पश्चिमी दुनिया भएको छ । अँग्रेजले जे भन्यो, जे मान्यो र जे गर्यो तेही सर्वाेत्तम हो भन्ने हाम्रो धारणा छ । हामी, हाम्रो नेता, योजनाकार, कर्मचारी, बृद्ध, युवा, युवती, छात्र छात्रा, किसान, उद्योगी, ब्यवसायी, प्रतेकले रुस, अमेरिका, बेलायत, फ्रान्स आदि देशका मानिसलाई आफना आदर्श मानेका छौं र हाम्रा शास्त्र, मूल्य, मान्यता, धर्म, संसकृति,जन्मदिन लगायतका अन्य कर्म, चाड पर्व, तिनलाई मनाउने तरीका, विवाह, बालबच्चाको जन्म, स्वास्थ्य सम्बन्धी पद्धति, आहार विहार आदि सबमा हामीले कमी कमजोरी र गलती देखने गरेका छौं ।
तर अमेरिका बेलायत लगायतका तिनै पश्चिमी देश र उन्नत समाजमा आज युवक युवती र अन्य उमेर अवस्थाका मानिस समेतमा मानसिक तनाव, तनावबाट अनगिन्ती हर्ट अटैक, या पागलपन, हल्ला मच्चाउंदै हिंडने थुप्रै नशेडी पागल र होमलेसहरु , आत्महत्या, स्कूल कलेजमा अपरिचित द्वारा आक्रमण र अंधाधुंध गोली हानेर धेरै जनाको हत्या ले बढदो असुरक्षा, पति पत्नी को अति सामान्य कुरामा समेत हुने गरेका संबन्ध विच्छेद, बालबच्चाको दुर्दशा जस्ता असामाजिक वातावरणले सरोकारवालाहरु साह्रै चिन्तित छन् र यस्को प्रमुख कारण उनीहरुको जीवन प्रतिको दृष्टिकोण र जीवनशैली लाई दिएका छन् । हाम्रा शासन प्रशासन र पेपरहरुले इनको बाहिरी आवरण हेरेर प्रशंसा मात्र गर्दछन् र अहिलेको सामाजिक स्थितिको मीमांशा गर्दैनन्, संभवतः यस्को अध्ययन छैन र इनको अन्धानुकरणबाट भोलीका दिनमा हाम्रो समाजमा हुन सकने कुब्यवस्था प्रति सजगता छैन ।
अमेरिका आज भन्दा ६० वर्ष अघि नै चन्द्रमामा पुगी सकेकोले ऊ र बेलायत लगायतका अन्य पश्चिमी देशहरुले विज्ञानको क्षेत्रमा आश्चर्यजनक उन्नति गरेका र बिजली, पानी, भवन, बाटो र पुल निर्माण, शिक्षा,र स्वास्थ्यको स्तर, मानिसको जीवन यापनमा सुख, सुविधा र समृद्धि को स्वर्ग बनाएको कुराको मुक्त कंठले प्रशंसा गर्नै पर्दछ । तिनीहरु ईमानदार र कर्मयोगी भएरै हो तिनीहरुको यस्तो भौतिक उन्नति प्रगति भएको छ । तर यसो भन्दैमा तिनीहरु सर्वज्ञ र सर्व गुण संम्पन्न छन् र मानव जीवनको प्रतेक क्षेत्रमा महारत हासिल गरेका र ज्ञानका सबै क्षेत्रका जानिस्कार छन् भनेर मान्नु हाम्रो गलती हुन जान्छ ।
एक युवक की एक मात्र बहिनी अर्कै राज्यमा काम गरेर बसेकी छन्, र गर्लफ्रेण्डले छोडेर हिंडेकीले एकलै रहने बस्ने ती युवक तनावग्रस्त रहन्थे, डाक्टर र औषधिको सहयोगमा मात्र निद्रा लाग्थ्यो । एक दिन एक साथीले तिनलाई कुनै काम परेर फोन गरेछ । फोन उठेन, उसले फेरी फेरी फोन गर्दा पनि फोन नउठेपछि प्रहरीलाई फोन गरेर जानकारी गराएछ । प्रहरी ले डेरामा गएर हेर्दा युवक सोफामा मरेको देखा परेछन् । एक युवक बन्दूक लिएर कुनै स्कूल । मल । या थिएटर मा पस्छ र जो भेटिएपनि गोली हान्छ, २०।३० जना मारिन्छन् र सेक्योरिटी या प्रहरीले उसलाई पनि मार्छ । यस्ता घटनाले निकै आतंक श्रृजना गरेको छ । सरकारले तरकारी किने झैं मनपरी बन्दूक किन्नमा रोक लगाउंदा अदालतले संवैधानिक अधिकार भनेर आदेश खारेज गरि दिन्छ ।
उनको लागी काम, काम, काम बाहेक अरु संसार छैन । त्यो अँग्रेज जसले महिनामा लगभग २६ दिन स्टोर को नमालुम कति दिनको बासी रोटी र जंकफुड, र घरेलू खाना भए पनि करीब ५ दिनको त फ्रिजमा राखेको बासी नै खान्छ, बाटोमा पैदल र गाडीमा हिंडदा खाँदै हिंडछ, खाद्य अखाद्यको खासै विचार छैन, न खानाको पहिले न खाना पछि नै हात मुख धुन्छ, न कुल्ला गर्छ, न त दिशा गरे पछि दिशा धुन्छ, मुख र चाक कागज ले पुच्छ, खाना खाए पछि जिम गर्छ, प्राणायाम,योग र ब्यायाम को महत्व हालैका दिनमा स्वामी रामदेवको प्रचारमा सिकदै छ । जहाँ बिरामीले निशुल्क एक टेबलेट सीटामोल सम्म पाउंदैन, सरकारी अस्पताल र बृद्ध बृद्धाका हाम्रा जस्ता सेवा भवन छैनन । तिनको यो अवस्थाको हामीले मूल्यांकन गर्दैनौं ।
सुख र आनन्दको सही परिभाषा लाई आधार मानेर तुलनात्मक तर्क बुद्धि द्वारा हेर्ने हो भने उनले परिवार, समाज र आफन्त देखि आँखा चिम्लेर, दिन रात मेहनत गरेर, ईमानदार र श्रमशील भएर भौतिक उन्नति गरेको कुरा दुनियाको लागी जति आश्चर्य को विषय छ, त्यो भंदा महा आश्चर्य को विषय यो पनि छ कि उनीहरुले यो विकास गर्नलाई सामाजिक र आध्यात्मिक मूल्य लाई यस हद सम्म तिरोहित गरेर का छन् कि तिनीहरु यद्वपि मानव समुदाय भित्र समाज मा बस्छन्, तर समाजविहीन छन् । भौतिकवादी चिन्तन, बजारवाद र शहरीकरणले गर्दा तिनीहरुको समाज मानिसको एक भीड मात्र छ । हाम्रो देशमा गाई गोरु भेंडा बाख्रा एक साथमा रहे बसे जस्तो ।
एसको एक मात्र मुख्य कारण यो छ कि हामीहरुको जीवन दर्शन या लक्ष्य परमानन्द या मोक्षको प्राप्ति -Attainment of ecstasy) हो भने पश्चिमाहरुको लक्ष्य सुख को खोजी -सुखको पीछा गर्ने_ -Pursuit of happiness) हो । सुख पाउन लाई धनको अधिकता हुनु पर्रयो, यसकोलागी कि त ब्यापारमा जुटनुपर्यो कि त पढनु पर्यो । थोरै शिक्षाले प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकोले धेरै पढनु पर्यो र धेरै लामो समय मेहनत नगरे सम्म ढुक्क हुने खालको आर्थिक स्थिति नबन्ने भयो । सुदृढ आर्थिक अवस्था नभए सम्म विवाह गरेर घरजम गरेर बस्ने कुरा उनीहरुले मन पराउंदैनन् । तिनलाई शारीरिक भोक मेटाउन कुनै प्रतिबन्ध छैन, १८ वर्ष पुगेका केटी केटा का बीचमा सेंटग, डेंिटग, गर्ल फ्रेन्ड, ब्वायफ्रेन्ड जस्ता अस्थाई का साथै “लीविंग इन रिलेशनशिप” जस्ता स्थाई बाटा छन् । उनीहरु अविवाहित रहेर पनि लोगने स्वास्नी झैं एक साथ डेरामा बसे भयो, मन लागे बाल बच्चा जन्माए पनि भयो ।
अर्थात ३५, ४० वर्ष को अवस्था सम्म विवाह गर्ने सोंच बन्दैन । तेस पछि मन लागे विवाह गरे भयो । विवाह गरेपछि बच्चा जन्माउने कुरामा दुवै को सहमति हुनु पर्यो । मन नलागेमा या सानो भंदा सानो काम कुरा मा कसैको चित्त नबुझेमा छोडेर हिंडे भयो । यो आजादीको लागी बच्चा बाधक हुने भएकाले धेरैले बच्चा नै जन्माउंदैनन् र जस्ले जन्माउंछ उस्ले मुश्किलले एक र कता कतै दुइ । यसैले त सरकारले बच्चा जन्माउने विदेशी परिवारहरु डीवी आदि तरीकाले बोलाएर बसाल्ने गरेको छ ।
इनीहरु अरुका सामुन्ने नक्कली मुस्कान देखाएपनि र अरु देशमा पर्यटनमा जाँदा खुशी देखिए पनि इनको गाउं घर र देश मा इनको जीवन देख्दा बडो टीठ लाग्छ । उनीहरुको घर परिवार यदि छ भने पनि प्रतेकको रुचि, खाना, चीजवस्तु, आदि आ आफना छन् । घर परिवार सबैले एकसाथ खानपीन गर्ने, बस्ने, रमाइलो गर्ने, एक अर्काको साथी सहयोगी चिन्ने , घुमफिर गर्ने, नातागोता इष्टमित्रमा पहुनाई गर्ने, एकले अर्का को कामकुरा मन नपरे पनि साथ रहने, साथ दिने अवस्था तिनीहरुमा दुर्लभ नै छ । आफनो काम आफैले गरेका छन् । एकलोपन मेटाउनलाई कुकुर र बिराला पाल्छन्, तिनी संग कुरा गर्छन् ।
पार्क, रेस्टोरेण्ट, ट्र्ेन, बस, काम सब ठाउंमा एकला एकलै बस्छन्, कोई संग बिना कारण कोई बोल्दैन, कि पेपर या किताब पढछन्, मोबाइल या टीवी हेर्छन् । सबै नर नारी काम पर्दा साथी अन्यथा एकला छन्, बिना काम कोई कसैसंग भेटघाट छैन । फालतु गफ सप छैन । घर परिवार आदि इत्यादि सोधने कुनै मतलब छैन । आफनो टोल, छिमेक थाह छैन, अर्काको सुख दुख, बिमारी, जन्म, मरण संग खासै मतलब छैन । बालबच्चाहरु यदि छन् भने कोई कता कोई कता, जीवन भर पति पत्नी बनाउने या विवाह गर्ने र छोडने प्रक्रिया चली रहने हुनाले एक पति या पत्नीबाट जन्मेका सन्तानको एक आपसमा चीनजान नहुनु र एक स्त्री का विभिन्न पति बाट या एक पुरुषका विभिन्न समयका पत्नीबाट जन्मेका संतानलाई पूर्व या पछिका पति या पत्नीले नचिन्नू तेति अनौठो भएन तर धेरै पैसाको लागी राम्रो कामको खोजीमा लगातार बसाई सरी रहने “मूव” भै रहने र स्त्री पुरुष को विवाह, छोडपत्र, फेरी विवाह फेरी छोडपत्र, हुंदै जाने अवस्थामा, घुमफिर भएर बाबु र छोरी को आपसमा विवाह हुन पुगेको घटना निश्चय पनि पशुताको प्रतीक बन्न पुग्छ ।
घरमा नआमा बाबु दाजूभाई दीदी बहिनी छन् न सासु ससुरा छन् न त बालबच्चा छन् । बिना बरण्डाका घर र गगनचुम्बी भवनको शहरी बसाईमा एक अर्का संग देखभेट नहुने र “ अनावश्यक भेटघाट र कुराकानी बाट अरुलाई डिस्टर्ब गर्नुहुँदैन, उसको निजीपनको अधिकार को हनन हुन्छ ” भन्ने धारणा ले गर्दा दुइ फुट फरकमा अर्काे कोठामा को र कति जना स्त्री वा पुरुष वा बालबच्चा बसेका छन्, केही पनि थाह हुंदैन । उनीहरु ब्यक्तिगत स्तरमा मात्र होइन समाजिक स्तरमा समेत औपचारिक मात्र छन्,र एकला एकला निरीह प्राणी छन् । एकले अर्कालाई जहिले पनि मेक मनी भनेर धन कमाउन प्रोत्साहन दिने हँुदा भिन्न देशबाट गएका र भिन्नै सोंच र दर्शन बोकेको मानिसले पनि तेही धनांध दौडमा हाम फाल्छ ।
तेस समाजमा कसै माथि हात छोडने कुरा त के, कुकुर बिरालालाई पनि हप्काउन सम्म नपाइने वातावरणमा बच्चा र स्वास्नीमानिस त अझ बढी नै स्वतन्त्र छन् र पतिले पत्नीको प्रतेक काम कुरामा कि त हुन्छ भन्ने हो कि त खुम्चिएर चुप रहनु पर्ने अन्यथा पत्नी या गर्ल फ्रेण्डले छोडेर हिंडने, स्वास्नी मानिसहरुले सके सम्म धनी मान्छे, त्यसको उमेर छिप्पिएकै किन नहोस, खोजेर रोजेर विवाह गर्ने मनस्थितिले गर्दा हामीहरु कहाँ देखिने सामाजिकता इनीहरु कहाँ पटक्कै छैन । मानिस, -प्रायःलोगने मानिस_ कि त किताब, कि मशीनमा कि कुकुर बिरालामा सामुदायिक सामाजिक र सांसकृतिक र मानसिक संतुष्टि खोजी रहन्छ तर जब संतुष्टि पाउंदैन तब ऊ तनावग्रस्त हुन्छ र नशा गर्छ, निद्रा लागने दवाई खान्छ र यसबाट पनि मन शान्ति नभएपछि ऊ छटपटिन्छ, बौलाहा झैं हिंडछ, पागल सम्म हुन सक्छ र अरुलाई मार्छ, आफु मर्छ कि त हर्ट अटेक आदि भैरहेको देखिन्छ । हाम्रो एशियन देशहरुमा पनि शहरीकरण र तेस्तै भौतिकवादी चिंतन, नीति र ब्यवहारको अनुशरण भैरहेकोले चिन्ताको विषय छ ।
अध्ययनकर्ताहरुल,े मानिसको धन कमाउने इच्छाले अहिले धेरै काम गर्ने, धेरै समय बाहिर रहने र साथी र परिवारविहीनता को स्थितिले गर्दा मानिस तनावको यो अवस्थामा पुगेको र यसैले गर्दा हर्ट अटेक, आत्महत्या र हत्याका घटना अप्रत्याशित रुपले बढेका छन् भन्ने निष्कर्ष निकालेका छन् । यस्ता निष्कर्षबाट हामीले बेलैमा सचेत हुनुपर्दछ ।
मैले अहिलेको आफनो अध्ययनकालमा अमेरिकन युरोपीयन मानव जीवनको अध्ययन गरेर के निष्कर्षमा पुगेको छु कि केटा केटीको विवाह योग्य उमेर पुगे पछि ढिलो नगरेर छिटै – २२।२३ भित्रै_ विवाह गरि दिनु पर्दछ, आजको आहार, शिक्षा, टीवी, सामाजिक संजाल र खुल्लापन – नांगापन ले गर्दा बच्चाहरु १७, १८ वर्ष देखि नै धेरै कुरामा जानकार हुनजाने गरेकाले विवाहको लागी २५ त कटाउनै नहुने रहेछ । विवाहित जोडाले संतान जन्माउनुमा ढिलाई गर्नु हुँदैन । पढाई, नोकरी, ब्यापार र काम लाई बाधक बनाउनुहुँदैन । घरमा आमा बाबु या परिवारमा अरु कोई छैन भने पति पत्नी मध्ये एक जनाले नोकरी र अर्काेले घरमा रहन मिलने खालको उद्यम गर्नुपर्दछ । “संतानलाई उचित समय भित्रै भरसक छिटो जन्म दिइ सक्नु पनि ब्यक्तिको सुख शान्ति र उन्नति प्रगतिमा एक अनिवार्य उपलब्धि हो” भन्ने कुरा बुझनुपर्ने भएको छ । यो उपलब्धिले तनावको न्युनीकरण गर्दछ । पति पत्नी दुइटैले एक साथ घर छोडेर काममा जाने, निसंतान रहने या संतानलाई बेबारिसे बनाउने काम गर्नु हुँदैन र परिवार एक साथ रहने बस्ने घुम्ने, टोल छिमेक, नातागोता र इष्टमित्र कहाँ आवत जावत गर्ने, सांस्कृतिक, साहित्यिक र खेलकूद को कार्यक्रमको आयोजना र यस्मा जाने समय निकाल्नै पर्दछ । शहरी जीवन भन्दा ससाना बजार र ग्रामीण जीवनलाई प्रार्थमिकता दिने, बस्नलाई बहुतल्ले घर नबनाउने, शहर बजारमा रहने बस्ने काम र अवस्थामा पनि गाउंसंग जोडिइ रहने र काम सकिएपछि गाउं फर्कने, घरमा खुल्ला बरण्डा र बैठकहरुको फेरी चलन गर्ने र बैठकमा बस्ने,र समाजमा आफन्तेपन देखिने गरी घुलमिल गरेर बस्न आवश्यक देखिन्छ ।
(लेखक पूर्व प्रशासनिक अधिकारी, प्राध्यापक र राजनीतिशास्त्रका अध्येता हुन् )